आसन र कार्यक्रमस्थलको निहुँमा काँग्रेसीहरुबीच मुक्कामुक्की
रामेछापमा नेपाली काँग्रेसका जिल्लास्तरीय नेताहरुबीच आज भिडन्त भएको छ । एउटा गुटले अर्को गुटलाई रामधुलाई गरेपछि भागाभाग भएको थियो । सडक मार्गबाट भाग्न असहज भएपछि केहीले कार्यक्रमस्थल नजिकै हेलिकोप्टर मगाएर राजधानी फर्केको बताइन्छ ।
भरत चौलागाईंको गुटलाई वीरबहादुर तामाङ (काँग्रेस महासमितिका पूर्व सदस्य) को समूहले मुक्काएको हो । खाँडादेवी गाउँपालिकाको गाल्वामा आज भएको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन उद्घाटन समारोहमा आसन ग्रहण र कार्यक्रमस्थलबारे विवाद भएपछि अधिवेशन रणमैदानमा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि काँग्रेस जिल्ला सभापति एवम् सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङ थिए । कान्छाराम र भरत समूह वीरबहादुरका विरोधी हुन् । सदरमुकाम मन्थलीमा कार्यक्रम गर्दा एउटा पक्ष पराजित हुने डरले गाल्वामा गरिएको काँग्रेसीहरुको भनाइ छ । कुर्सी हानाहान र भागाभागको क्रममा केही घाइते भएका छन् ।
तामाङलाई प्रहरीले सुरक्षित तवरले मन्थली पुर्याएको छ । जीतबहादुर मगर र बेनबहादुर तामाङ घाइते भएका छन् । काँग्रेस बागमती प्रदेश सदस्य मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार थिए ।
चौलागाई र जिल्ला कार्य समिति उपसभापति नवराज थोकर ज्यान जोगाएर भागेका हुन् ।
टिप्पणीहरू