न्यायका लागि महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखेको रवि लामिछानेको स्पष्टीकरण

न्यायका लागि महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखेको रवि लामिछानेको स्पष्टीकरण
सुन्नुहोस्

गृहमन्त्री रवि लामिछानेले सहकारी गठीका सम्बन्धमा आफूमाथि उठेका प्रश्नको संसदमा जवाफ दिन नपाएपछि महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन् । 

सहकारीको बचत हिनामिना प्रकरणमा जोडिएका उनलाई जोगाउन महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरिएको आरोप लागिरहेका बेला लामिछानेको यस्तो प्रतिक्रिया आएको हो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आम नागरिकका रुपमा सूचनाको हकअन्तर्गत महान्याधिवक्ता कार्यालयसँग आफूले सूचना मागेको स्पष्टिकरण दिए । 

सहकारी ठगीमा आफ्नो संलग्नताबारे आएका समाचारमा कुनै सत्यता नरहेको पटकपटक दोहोर्याएका गृहमन्त्री लामिछानेले संसदीय छानविन समिति बनाउने कुराको विपक्षमा कहिल्यै नरहेको जिकिरसमेत गरेका छन् ।

यस्तो छ लामिछानेको भनाई

म स्पष्ट पार्न चाहन्छु–हिजो पनि दलहरुको बैठक बसेर, दलहरुको छलफल भए एउटा सहमतिमा पुगिएको थियो । दलका प्रमुख नेताहरु बसेर भएको सहमति थियो । तर, प्रमुख प्रतिपक्ष हिजो भएको सहमतिबाट आज कता कता विमुख भएजस्तो मलाई लागेको छ । हामीेले कहिल्यै पनि संसदीय समिति बन्न हुँदैन, बनाउन हुँदैन भनेर भनेका पनि छैनौं ।

मात्र यति भनेका थियौं कि एक पटक आफूमाथि लागेको आरोपहरु बारे बोल्न पाउँ । ती आरोपहरु जो प्रहरीमा उजुरीमा छैन । अदादतमा पेश भएको छैन । मात्र ती उजुरीहरु पत्रिका हेडलाईन बन्न सफल भएका छन् । के यो सदन पत्रिकाको हेडलाईनमा उफ्रिने सदनको रुपमा स्थापित गर्न हामी तयार रहेका हौं ? फेरि पनि भन्छु सभामुख महोदय, व्यक्ति केन्द्रित गरेर जाने हो भने कुरो धेरै अघि बढ्न सक्छ । व्यक्ति केन्द्रित भएर जाँदाखेरी भोलिसम्म पत्रपत्रिकामा आएर हरेक समाचारको छानविन समिति बनाउने नजिर यो संसदले बनाउन चाहन्छ भने सरकारले जति नै पुरानो भएपनि फाईल खोल्ने भनेर न्यूनतम साझा कार्यक्रममा नै छ । म त तयार छु । शुरुवात मबाट गर्नुहोस् । 

मैले अहिले उल्लेख गरेकोहरु सबैको फाईल खोलौं । समिति बनाउ, म तयार छु । तर हामीले कस्तो संसदीय मर्यादा लिएर जाने भन्ने कुराको तय पनि यो संसदले गरोस् । अब मलाई केही भन्नु छैन । म यतिकुरा मात्रै थप्न चाहन्छु–जसरी सहकारीका विषयमा कुराकानी उठिरहेको छ । ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन । मैले बारम्बार भन्दै आएको छु । कोही प्रतिवादी छैन । कसैको बयानले मलाई बोलेको छैन । केही ज्ञापनपत्र हरु पनि आएका छन् । त्यसको पनि मेरो नाम उल्लेख छैन । 

मैले अन्याय पर्दा मेरो बारेमा सूचना माग्न कहिँ न कहिँ जानै पर्ने थियो । व्यक्तिका रुपमा न्याय खोज्न ज्यादा मैले महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखेँ । उसले मलाई कहीँकतै मुद्दा नभएको, अभियोग नभएको पत्र दियो ।

टिप्पणीहरू