सम्पदालाई पुरानो शैलीमा लैजाँदा व्यापार बढ्ने मेयरको विश्वास

सम्पदालाई पुरानो शैलीमा लैजाँदा व्यापार बढ्ने मेयरको विश्वास

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सम्पदा निर्माणमा पुरानै शैली अपनाउनुपर्नेमा जोड दिएका छन् । 

आज थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले उपत्यकाभित्रका सम्पदा पुन:निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिनुपर्ने बताएका हुन् । यसले व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने मेयर साहको विश्वास छ । 

'हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो । हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ । जीवनशैली पनि बढ्छ । सबैको इज्जत पनि बढ्छ । त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ’, उनले भने । 

मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुलाई अनुरोध गरे । एकमुष्ट बजेट हालेर एकैपटकमा काम सम्पन्न गर्नुपर्ने उनको भनाई छ ।

‘महाबिहार बनाउँदा वडाध्यक्षहरुलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन की भन्ने जस्तो लाग्दो रहेछ', मेयरले भने, 'म सधैँ भन्छु- एकै पटक सबै माग्नुस् । एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो ।'
 

टिप्पणीहरू