सहकारीको ऋण नतिर्नेलाई कारबाहीको चेतावनी

सहकारीको ऋण नतिर्नेलाई कारबाहीको चेतावनी

वीरगञ्ज महानगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरुलाई कारबाहीको चेतावनी दिएको छ । 

पटक-पटक ताकेता गर्दा पनि ऋण तिर्न अटेर गर्ने खराब ऋणीहरुलाई महानगरले अब भने कारबाही प्रक्रिया अघि बढाउन लागेको हो । महानगरले सार्वजनिक सूचना जारी गरेर सहकारी ऐन, २०७४ को दफा ५९, ६१ र ६२ बमोजिम ऋणीहरुको कालोसूची प्रकाशन गर्ने, खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्ने भन्दै सचेत गराएको छ । 

ऋणीहरुले समयमा ऋणको किस्ता नतिर्दा सहकारी संस्थामा व्यापक समस्या देखिएको महानगरको भनाइ छ । त्यस्तै, महानगरले समयमा किस्ता तिरेर सहकारीमा देखिएको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेको छ । सहकारीको ऋण तिर्न नपर्नेजस्ता भ्रामक र गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको पछाडि नलाग्न पनि सूचित गराइएको छ । 

‘ऋणी सदस्यहरुले लिएको ऋण रकमको समयमा साँवाब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरुले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्न नपर्नेजस्ता भ्रामक र गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासाहरु आइरहेका छन् । केही सहकारी संस्थाहरुमा तरलताको समस्याले सदस्यहरुको बचत फिर्ता गर्न नसकेको अवस्था पाइएको छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू