सदनको जबर्जस्तीप्रति असन्तुष्ट माधव नेपाल पत्र लिएर बालुवाटार

सदनको जबर्जस्तीप्रति असन्तुष्ट माधव नेपाल पत्र लिएर बालुवाटार

प्रमुख प्रतिपक्षसहित विपक्षीहरुको अवरोधका बीच सदन चलाउने सरकारको कदमप्रति सत्ता साझेदार एकीकृत समाजवादी असन्तुष्ट देखिएको छ । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न माग गर्दै नेपाली कांग्रेसले लामो समयदेखि संसद अवरुद्ध गरिरहेको छ । यस्तो स्थितिमा विपक्षीहरुलाई सहमतिमा ल्याएर संसद चलाउनुपर्ने मुख्य दायित्व सरकारकै हुन्छ । तर, संसदका पछिल्ला घटनाक्रमले सभामुखसमेतको सहयोगमा सत्तापक्ष पेलेरै जाने रणनीतिमा रहेको देखिंदैछ । 

जेठ ७ गते कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी र होहल्ल गरिरहेका बेला प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची अघि बढेको थियो । आज त्यसैगरी सरकारको नीति तथा कार्यक्रम पारित गरिएको छ । यी दुई घटनाले सत्ता र प्रतिपक्षबीच टकराव बढिरहेको प्रष्ट हुन्छ । 

'सरकार सत्तापक्षको, संसद प्रतिपक्षको' भन्ने संसदीय मान्यता विपरित सदनको कामकारवाही जबर्जस्ती अघि बढाईएको यो स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेकपा एस असन्तुष्ट बनेको हो । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेससँग सार्थक संवाद र वार्ता गरि सहमति साथ संसद चलाउन आग्रह गर्नुभएको छ ।  

'संसद जनताका सबै प्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो भन्ने हाम्रो पार्टीको दृढ विश्वास छ', पत्रमा भनिएको छ, 'अहिले संसद अवरुद्धजस्तै भएको छ । संसदमा देश र जनताका समस्यामा सार्थक बहस हैन, अस्वस्थ आरोप-प्रत्यारोप भैरहेको छ भने सत्तापक्ष र प्रमुख प्रतिपक्षका बिचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ ।'

नीति तथा कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनुपर्नेमा यसखाले टकरावको अवस्था देखा पर्नुलाई नेकपा एसले दु:खद भनेको छ । त्यसकारण छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले कुशलता र आवश्यक लचकता देखाउनुपर्ने सो पार्टीको जोड छ । 

'संसदका नियमित काम कारवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षलाई सार्थक छलफल र वार्ताद्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गम्भीर पहल गर्नुहोस्', प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ । 

कठिन खालका असहमति र द्धन्द्धसमेत वार्ता र सहमतिका आधारमा समाधान गर्न सकिन्छ भन्ने अनुभव भएका प्रधानमन्त्रीले यो विषयमा पनि सहमति जुटाउन सक्नेमा एकीकृत समाजवादीले विश्वास जनाएको छ ।

टिप्पणीहरू