रविलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर
उच्च अदालत, पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ ।
न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले उनीसहित संगठित रुपमा गरेको ठगीसम्बन्धी कसुरका अभियुक्त पूर्वडिआईजी छविलाल जोशी, सुनिता नेवा, कमल लामालाई धरौटीमा छोड्ने जिल्लाको आदेश कानुनसम्मत देखिएको ठहर गरेको हो ।
आदेशमा भनिएको छ,‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम प्रतिवादीहरु रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा, कमल लामाबाट मुद्दा पुर्पक्षका लागि धरौट माग गर्ने गरेको त्यहाँ अदालतको मिति २०८१–१०–०२, मिति २०८१–१०–०७ र मिति २०८१–०९–२३ को आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहनुपर्ने देखिन आएन ।’
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छोडेको थियो । उनलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्चमा पुनरावेदन गरेको थियो ।
टिप्पणीहरू