पढेर मात्रै के गर्नु पाइलटले
नेपाली उड्डयन क्षेत्रको विरह कस्तो छ भने आकर्षण धेरै, अवसर कम ! करोडौं खर्चेर पाइलट अध्ययन पूरा गरी स्वदेश फर्किएका नयाँले जागिर नपाउने, पुरानालाई टिकाउन नसकिने । युवामा पाइलटप्रतिको आकर्षण बढ्को बढ्यै तर नेपाली बजार/आकाश साँघुरो छ । त्यही कारण करोड खर्चेर अर्बौं कमाउने चाहना बोकेका युवाहरु प्रमाणपत्र सिरानीमा हालेर सुत्न विवश छन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा झण्डै तीन सय हाराहारीमा पाइलटहरू बेरोजगार छन् । औसतमा बर्सेनि सय जना युवा पाइलट पढ्न विदेश जाने तर प्रतिवर्ष नेपालमा पाइलटको माग १५ देखि २० जनाको मात्र हुने हुँदा बेरोजगार पाइलट थपिएको थपियै छन् ।
एयरलाइन्स र जहाज कम्पनी सीमित, नयाँ जनशक्ति थपिएको थपियै गर्दा उत्पादित पाइलटले जागिर नपाउने स्थिति पैदा भएको हो । अहिले उडान भरिरहेका बुद्ध, गुण, नेपाल एयरलायन्स, श्री, सीता, समिट, सूर्य, तारा, यतीसहितका ९ वटा वायुसेवा कम्पनी छन् । कागजमाचाहिँ यी कम्पनीमध्ये बुद्धसँग १७ (एटिआर), यतीसँग सात एटिआर, श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ७ वटा रोटर (हेलिकोप्टर), गुणसँग सात वटा जेट, सूर्य ३, तारा ३, सीता ४, समिट चार र नेपाल एयरलायन्ससँग ३ वटा जहाज देखिन्छन् ।
श्री एयरलाइन्ले ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुर्याएको छ । सौर्यले इण्डियालाई जहाज बेच्दै छ । श्रीपछि नेपालमा सर्वाधिक जहाज हुनेमा बुद्ध एयरसँग १७ वटा एटिआर विमान रहेको छ । अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालयन एयरलाइन्ससँग ए थ्री २० र ए थ्री १९ गरी ४ वटा जहाज छन् । यीमध्ये निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरले जति पाइलटलाई रोजगारी दिन सकेका छन्, त्यतिमै सीमित छ पाइलटको नेपाली बजार ।
उसमाथि गुण एयरलाइन्स कारवाहीमा परेका कारण कुनै विमान उडेका छैनन् । बुद्धको एउटा जहाज विदेशीलाई बेचिएका कारण झण्डै ५ दर्जन पाइलट बेरोजगार छन् । सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगममा झण्डै १५० पाइलट छन् । भएका ट्वीनअटर विमान पनि कहिले उड्दै, कहिले थन्किँदै आएको छ ।
कन्ट्रयाक्ट र स्थायी पाइलटले अवसर पाउँदा त्यहीँका कतिपय पाइलट पाँच वर्षदेखि जहाज छुनसमेत नपाएको गुनासो पोख्छन् । यस्तो स्थितिमा करोडौं लगानी गरेर पाइलट कोर्स अध्ययन गरेका फ्रेस जनशक्ति बेरोजगारीमा पिल्सिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्ला पाँच वर्षमा ४८४ पुरुष र १२५ महिला गरी ६०९ जना पाइलट कोर्स अध्ययनका लागि अमेरिका, फिलिपिन्स, अष्ट्रेलियादेखि साउथ अफ्रिका पुगे । अमेरिकालगायत मुलुकमा पुगेकाहरू उतै पलायन भएका छन् । औसतमा ८० लाखसम्म खर्च गरेर विदेशमा पाइलट कोर्स सकाउँदा अर्काे कोर्सका लागि झण्डै ४० लाख थप खर्च हुन्छ ।
यसरी अध्ययनका लागि विदेश पुगेकामध्ये फिक्स विङ्स विमानका १९५ र हेलिकप्टरका १४ जना पाइलट मात्र अध्ययन सकेर फर्किएको नागरिक उड्डयन प्राधिकरणको आँकडा छ । त्यहाँबाट इजाजतप्राप्त कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) प्राप्त गर्नेको संख्या जम्मा ६५७ मात्रै छ, यसमध्ये जम्मा १७५ जनासँग मात्रै मान्यताप्राप्त इजाजत पत्र छ । यो बाहेक एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटिपिएल)को मान्यताप्राप्त १८४ र हेलिकप्टरका ८ जना मात्रै पाइलट रहेको प्राधिकरणको तथ्यांक भेटिन्छ ।
अर्काेतिर ३ हजार घण्टा बढी उडान गरेका पाइलट यता टिकाउन मुस्किल छ । उनीहरूले विदेशी एयरलायन्स ताक्ने प्रवृत्ति बढ्दै छ । अर्काेतिर पाइलट भनेपछि जीवन र मृत्युको टुंगो छैन । त्यही कारण हतपत्त छोरी दिन नमान्ने गरेको देखिन्छ । जस्तोः भूपू एआइजी राजेन्द्रबहादुर सिंहको छोरा सिद्धार्थले बुद्ध एयर उडाउँछन् । उनले दुलही पाउन कम्ता सास्ती खेप्नुपरेन ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू