भयानक शासक जसको नाममा बाहिरिन्छन् सिनेमा

भयानक शासक जसको नाममा बाहिरिन्छन् सिनेमा

मानवको रगत चुस्ने भ्याम्पायर (पिशाच) को जीवनीमा आधारित डरलाग्दो र तर्साउने चलचित्र धेरै बनिसकेका छन् ।

हलिउडमा यस्ता चलचित्र धेरै बन्छन् र चल्छन् पनि । सबैभन्दा चलेको चलचित्र हो ‘ड्राकुला’ । उक्त चलचित्र आइरिस लेखक ब्रैम स्टोकरको उपन्यासमा आधारित छ । यो उपन्यास उनले सन् १८९७ मा लेखेका थिए । जीवनमा धेरै लघुकथा र १५ वटाजति उपन्यास लेखेका उनको ड्राकुला सातौं उपन्यास र सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । लेखक ब्रैमले भ्लाड ड्राकुलाको नाउँबाट प्रसिद्ध १५ औं शताब्दीका युरोपियन एक जना राजकुमार भ्लाड (तृतीय) को जीवनीबाट प्रभावित भएर उक्त पात्र सिर्जना गरेका थिए । 

भ्लाड (तृतीय) रोमानियाभित्रको सानो राज्य वालाचियाको शासक बन्न पुगेका भ्लाड ड्राकुलाका माइलो छोरा थिए । ड्राकुलाको अर्थ ड्राकुलका पुत्र हो । ड्राकुलका ५ छोरा थिए । त्यसबेला युरोपसम्म पनि तुर्क साम्राज्यको दबदबा थियो । सोही साम्राज्यलाई खुशी पार्न उनले आफ्ना दुई छोरा भ्लाड (तृतीय) र साइँलो छोरा राडु तुर्क साम्राज्यलाई सुम्पिदिए ।

त्यो बेला शक्तिशाली राज्यबाट आफ्नो राज्यलाई बचाउन सानो राज्यले त्यसो गर्ने परम्परा नै थियो । तुर्क सम्राटले दुबैलाई केही समय बन्दी बनाएर राखे अनि शिक्षादिक्षा दिलाउन आफ्ना छोराहरूसंगै बाहिर पठाइदिए । त्यसरी जानेमा युवराज मुहम्मद अल फातेह (मोहमद द्वितीय) पनि थिए, जो पछि तुर्क साम्राज्यको सुल्तान बने । उनीहरूले त्यसबखतका नामी दार्शनिकहरूबाट शिक्षादीक्षा प्राप्त गरे । ती दार्शनिकमध्ये एक जना अहमद कुरानी पनि थिए । सुल्तानले उनलाई साम्राज्यको सुल्तान बन्न गइरहेका युवराजसम्मलाई कोर्रा हान्ने अधिकार दिएका थिए ।  ​​​​​

भ्लाडले अन्य राजकुमारसरह उनीहरूबाट उच्च श्रेणीको शिक्षा हासिल गरे । त्यसो त उनी हत्तपत्त कुनै कुरा बुझ्दैनथे । चाँडै रिसाउँथे, अनुहार पनि त्यत्तिकै नराम्रो थियो, जसकारण गुरुले उनलाई धेरै पटक कोर्रा हाने । उनका भाइ राडु पठनपाठनमा तेज थिए, अनुहार पनि सुन्दर । दरबारिया र दरबारका युवतीहरू उनलाई खूब मनपराउँथे । यसरी दुबै दाजुभाइप्रति गरिने फरक–फरक व्यवहारले दाजुभाइ नै शत्रु बन्न पुगे । दुबैले तरवार चलाउनेलगायत सम्पूर्ण युद्धकला सिके । पछि राडुलाई त्यहाँको वातवरण राम्रो लाग्यो र धर्म परिवर्तन गरी हाफिज (धर्मग्रन्थ कुरान कण्ठ आउने) बने । सन् १४४७ मा हंगेरीका सैनिक नेता जोन हुन्याडीको टोलीले वालाचियामाथि आक्रमण गर्‍यो । ड्राकुल राज्य छाडेर भागे तर अन्त्यमा सैनिकद्वारा बर्बर तरिकाले मारिए । 

हंगेरी सरकारको सहयोगमा भ्लाडले वालाचियामाथि हमला बोले र जितेर शासक बने । शासनसत्ता हातमा लिएपछि खुंखार निरंकुश बने । इतिहासमा ड्राकुलाको नाउँमा विख्यात उनले आफ्ना बाबुको हत्यापश्चात राजा बनेका डान (तृतीय) लाई युद्धमा पराजित गरेपछि समातेर दरबार लगे । ३ दिनसम्म अत्यन्त बर्बर यातना दिए । टाउको छिनाले र रगत एउटा कचौरामा राखेर त्यसमा रोटी मुछेर खाए । पछि बाँकी रगत पनि पिए । उनलाई आफ्नो पितालाई कसरी धोका दिएर सत्ताबाट हटाई हत्या गरिएको थियो भन्ने राम्रो जानकारी थियो ।

त्यसैले धोका दिएको शंका लागेका जो–कसैलाई पनि परिवारसहित भोजनका लागि निम्तो दिन्थे । बूढाबूढी र केटाकेटी कोही भन्दैनथे, क्रूर यातना दिएर मार्थे र रगत पिउँथे । शत्रुहरूबाट बच्न पहाडको टुप्पोमा एउटा किल्ला बनाएका थिए, जहाँ उनी आरामले बस्थे । शत्रुलाई पक्रेर त्यहीँ ल्याउन लगाउँथे । त्यहाँ बाँस लहरै ठड्याइएको हुन्थ्यो । बाँसको टुप्पोमा जिउँदै रोप्न लगाउँथे । मारिनेहरू पीडाले छट्पटाउँदै चिच्याएर मर्थे । जब उनीहरूको शरीरको रगत सबै भुइँमा पोखेर सुक्थ्यो, तव ती लाश पहाडबाट फाल्न लगाइन्थ्यो । यसो गर्नुको कारण सबै जनतामा त्रास फैलियोस् भन्ने थियो । यसो गर्दा निकै मज्जा आउँथ्यो । उनी कसैको कुरा सुन्दैनथे । पछि गएर सत्ताको उन्मादमा यति धेरै मात्तिए कि तुर्क साम्राज्यलाई कर तिर्नसमेत अस्वीकार गरे । 

त्यसबखत गैरमुस्लिम राज्यहरूले मुस्लिम शासकलाई जजिया कर तिर्नु पथ्र्याे । सो कर तिर्न आनाकानी गर्न थालेपछि तुर्क सम्राटले दुई जना दूत पठाए । उनीहरू दरबारभित्र पुगेपछि ड्राकुलाले शीरमा लगाइराखेको टोपी फुकालेर आफ्ना खुट्टामा राख्न आदेश दिए । तर, उनीहरूले त्यसो गर्न मानेनन् । रिसले चुर भएर ड्राकुलाले टोपीमाथिबाटै लामो किल्ला ठोक्न आदेश दिए । दूतहरूले पीडाले छट्पटाउँदै देह त्यागे । ड्राकुलाको रिस त्यतिले मरेन । दूतहरूको लाश तुर्क सुल्तानको दरबारमा पठाउन लगाए । केही समयपश्चात् तुर्क सुल्तानले ठूलो संख्यामा फौज पठाए जसमा ड्राकुलाका भाइ राडु पनि सामेल थिए । दुबै पक्षबीच घमासान लडाइँ भयो जसमा ड्राकुला मारिए । उनको मृत्युमा सम्पूर्ण तुर्क साम्राज्यमा हर्ष मनाउन उत्सवको आयोजना गर्न लगाए, सुल्तानले । 

ड्राकुलालाई इतिहासकारहरू पिशाच र शैतान मान्छन् तर तुर्क साम्राज्यभित्र यस्ता समूह पनि छन् जसले उनलाई ‘नायक’ ठान्दथे । उनी आफूलाई प्रेम गर्ने समूहप्रति अत्यन्त नरम व्यवहार गर्थे । खासगरी किसान वर्गप्रतिको व्यवहार निकै दयालु हुन्थ्यो । रातको समय भेष बदलेर दरबारबाट निस्कन्थे, किसानहरूको स्थिति बुझ्थे र आवश्यक सहयोग गर्थे । त्यसैले जब १४६२ मा तुर्क सेनाले उनीमाथि आक्रमण गर्‍यो त्यतिबेला त्यहाँका किसानले ठूलो सहयोग गरे । उनी शत्रुमाथि अत्यन्त क्रूर व्यवहार गर्थे । मार्नुअगाडि नांगिन लगाउँथे र नांगो शरीरमा भाला रोप्थे, माथिदेखि तलसम्म शरीर चिर्दै जान्थे । भालाले जिउँदो शरीरमा प्वाल पार्थे अनि भालालाई जमिनमा ठड्याउँथे । सबै छट्पटाउँदै प्राण त्याग्थे । 

ड्राकुला शासक त बने तर तुर्कजस्तो शक्तिशाली र विशाल साम्राज्यको सामु शासन टिकाउन धौधौ पथ्र्याे । एकछत्र शक्तिशाली बन्न पहिला आफ्नै राज्यभित्रका शत्रुहरूलाई एकएक गरी सखाप पारे । काठको खम्बामा शरीरलाई छेडेर मार्नुमा उनलाई औधी आनन्द लाग्थ्यो । काठको खम्बाको टुप्पोलाई चुच्चो पार्दैनथे गोलाकार बनाउन लगाउँथे, ताकि त्यसमा शरीर छेड्दै तल झार्दा शरीरको खासखास अंग क्षतविक्षत नहोस् । र शिकारलाई जिउँदै सोही अवस्थामा छोडिदिन्थे । कुनै व्यक्ति दिनभर छटपटाएर प्राण त्याग्थे भने कोही २–३ दिनमा । उनी यस्तो यसकारणले पनि गर्थे कि कसैलाई मार्नुअघि दिइने बर्बर यातना देखेर वा घटना विवरण सुनेर अरुले उनीविरुद्ध षड्यन्त्र गर्ने र धोका दिने साहस नगरुन् । एकपटक शत्रुपक्षको सेना सीमानजिक आइपुगेको सन्देश प्राए । शत्रुपक्षमा करिब २० हजार सैनिक थिए ।

उनी आफैँले युद्धको नेतृत्व गरे । शत्रुलाई पराजित गरे अनि मारिएका सैनिकको लाश र बन्दी बनाइएका सम्पूर्ण सैनिक जवानलाई त्यसरी नै काठको खम्बामा जिउँदै सुलि चढाएर मारे । यो घटनाको खबर सर्वत्र फैलियो, उनको राज्यमाथि आक्रमण गर्ने योजना बनाइरहेका अन्य राज्यका सैनिक उनीबिरुद्धको युद्धमा होमिन न नै मानेनन्, केही समयसम्म । 

यातना दिएर मार्ने उनको शैली अचम्मको हुने गथ्र्याे । गम्भीर खालको अपराधीलाई एक जना मान्छे मात्र अटिने पिँजडाभित्र राख्थे अनि पिँजडालाई रुखमा झुण्ड्याउन लगाउँथे । हलचलै गर्न नसकिने सानो पिँजडाभित्रको बन्दीलाई या त जनावरले या हिंस्रक पक्षीले खान्थे । कसै–कसैलाई काठको फ्रेमभित्र सिक्रीले बाँध्न अनि शरीरको हड्डी भाँच्न लगाइन्थ्यो । कतिपय महिलाको स्तन औजारले च्याप्न लगाइन्थ्यो र छटपटाएर प्राण नत्यागुन्जेल यो यातना जारी राखिन्थ्यो । कसैलाई दुइटा खम्बामा दुइटा खुट्टो बाँधेर उल्टो झुण्ड्याउँथे, ताकि उनको मस्तिष्कको रगत सप्लाई जारी रहोस् र नमरोस् । र, करौंतीले बीचबाट काटिन्थ्यो । पनि आधी मात्र काटिन्थ्यो, ताकि लामो समयसम्म छट्पटाउन् । 

उनले तुर्कहरूबाटै युद्धकला सिकेको भए पनि उनीहरूप्रति घृणा गर्थे । पितालाई धोका दिएर मारेको, बन्दी बनाइएका दाजुलाई पनि क्रूर यातना दिएर मारेकोले उनी तुर्कहरूसंग बदला लिन चाहन्थे । उनले १ लाखभन्दा बढीलाई मारेको इतिहासमा उल्लेख छ मारिएकामा अधिकांश तुर्क नै छन् । बुल्गेरियामाथि आक्रमण गरेको बेला मात्र उनले २३ हजार ८ सय ४४ जना तुर्कीकहरुलाई मारेका थिए । उनी यति निर्दयी थिए कि कहिलेकाहीँ शत्रु राज्यमा घुसपैठिया पठाएर त्यहाँका सबै इनारमा विष मिसाउन लगाउँथे । इनारको पानी खाने सबैको मृत्यु हुन्थ्यो । भनिन्छ, शत्रुको शरीरबाट रगत नबगेको दिन उनलाई निदाउन गाह्रै पथ्र्यो । रगत बगेको देखेपछि आनन्दको निद्रा लाग्थ्यो ।

ड्राकुला सन् १४७६ मा मारिएका थिए । ३ पटक गरी जम्मा ८ वर्ष शासन गरे । उनलाई उनैको भाइका सेनाले रोमानियाको राजधानी बुखारेष्टको चौबाटोमा मारेका थिए र लाशलाई त्यहीँको एउटा खम्बामा ४ दिनसम्म झुण्ड्याइएको थियो । ४८ वर्षको जीवनमा २ पटक बिहे गरे । कान्छी जस्टिना होरोसिजेग थिइन् । उनको पनि यो दोश्रो बिहे थियो । सन् १४७६ मा ड्राकुला मारिएपछि लगत्तै तेस्रो र १४७९ मा चौथो बिहे गरिन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू