युगौँदेखि हेपिएकाहरु गणतन्त्रपछि सम्मानका साथ बाँचिरहेका छन् - प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रकै कारण रैती भएर युगौँदेखि हेपिएका वर्ग र समुदाय अहिले अधिकार र सम्मानका साथ बाँचिरहेको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा आज टुडिँखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले युगान्तकारी परिवर्तनको फलस्वरूप अहिले उत्पीडित जाति, वर्ग र समुदायले अधिकार र सम्मानका साथ राज्यका विभिन्न निकायमा नेतृत्व पाएको बताउनुभयो । गणतन्त्रकै कारण चुलोचौकामा सिमित महिलाहरुले अहिले स्थानीय सरकार हाँकिरहेको प्रधानमन्त्रीको भनाई छ ।
'कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशैभरिका ६ हजार ७ सय ४३ वडालगायत राज्यका विभिन्न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन्', उहाँले भन्नुभयो, 'आधा आकाशको उपमा पाएका तर चुलोचौकोमा सीमित महिलाहरूले ७५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ।'
प्रधानमन्त्री प्रचण्डले नेपालको द्वन्द्ध व्यवस्थापन र शान्ति स्थापनाको अभ्यास विश्वकै लागि नवीन उदाहरण हो भन्नुभयो । संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी शान्ति प्रक्रियाका अधिकांश कार्य पूरा भइसकेको उल्लेख गर्दै उहाँले बाँकी काम पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
टिप्पणीहरू