राम्रो बजेट ल्याएको भन्दै सरकारलाई माधव नेपालको धन्यवाद
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेटमार्फत सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो भनाई राख्नुभएको हो । अर्थतन्त्रको आधारशीलाका रुपमा कृषिमा योजना अघि सारिएको भन्दै नेपालले खुशीसमेत प्रकट गर्नुभयो ।
'अहिले मैले बजेटको एउटा पक्ष देखेँ । कृषिको सन्दर्भमा ल्याइएका योजनाहरु मलाई साह्रो मन पर्यो', उहाँले भन्नुभयो, 'कृषिलाई नेपालको अर्थतन्त्रको आधारशीलाको रुपमा लिनुपर्ने र त्यसरुपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो ।'
त्यसक्रममा अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टीकरण बढेकोमा चिन्ता व्यक्त गर्दै भ्रष्टाचारले नेता, कार्यकता र सिंगो देश बिग्रिएको पनि बताउनुभयो । भ्रष्टाचार निर्मुल पार्न सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उहाँले हावादारी योजना बनाउने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिनुभयो ।
‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । नेताहरु पनि बिग्रिएका छन् । भ्रष्टाचारले, कार्यकर्ताहरु पनि बिग्रिएका छन् । देश पनि बिग्रिएको छ भ्रष्टाचारले । समाज पनि बिग्रिएको छ, विकृति र विसंगतिले । त्यसैले यि सबै चिजबाट कसरी हामीले उन्मुक्ति प्राप्त गर्ने, हामी ति सबैबाट कसरी माथि बढ्ने ? भ्रष्टाचारलाई उन्मुलन गर्ने कुरामा, नियन्त्रण गर्ने कुरामा, यसबाट जोगिने कुरामा, ध्यान कसरी दिने ? देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएन', अध्यक्ष नेपालको भनाई छ ।
राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्याएर चल्नुपर्ने उहाँको धारणा छ ।
टिप्पणीहरू