नेपालको गर्मी छल्न बैंकक धाउनेका नालिबेली
वैशाख–२२ शनिबार । दिउँसोको उराठलाग्दो समय । शहरमा पूरै सन्नाटा । बाहिर असाध्यै गर्मी । धूपले पग्लिनमात्रै बाँकी । पक्की सडकहरू ऐनासरी टल्किरहेका । शहरमा गाडीको निरन्तर कुदाइ । छेउतिर लहरै थरिथरि रंगका ‘समुद्री घोडा’को हिँडाइ । उता शान्त समुद्री शहर ‘हुआहिन’ ।
राजमार्गको कुनापट्टी ओर्लिएका मानिसहरू फुटपाथमा भेटिँदैनथे । उनीहरू होटल, रिसोर्ट, रेस्टुरेण्ट वा समुद्रको तटतिरै हान्निन्थे । योबेला थाइल्याण्ड निकै तातिएको छ । राजधानी ‘बैंककदेखि हुआहिनसम्म’ फैलिएको ‘तातो हावा’बाट जोगिन आतुर देखिन्छन् विदेशी पर्यटक । ‘तातो हावाले शरीर जलाउँछ । यो एकदमै हानिकारक छ । धूप चर्केको बेला बाहिर नजानु,’ सिजन प्यालेस रिसोर्टकी म्यानेजरले सुनाइन् ।
शहरभित्र हराइरहेका मानिसहरू आ–आफ्नै औतारमा छन् । उनीहरू ‘मन भुलाउन, मजा लिन, गर्मी छल्न’ भिन्नभिन्नै शैली अपनाउँछन् । कति किनमेल र खानपिनमा मस्त छन् । कति थाई सुन्दरी पट्याउँदैै छन् । कतिचाहिँ काम—धन्दामै छन् । एउटा हातमा चिसो बियर, अर्को हातले ‘थाई प्रेमिकाको हात’ । एउटा हातमा नरिवलको पानी वा खानेकुरा, अर्को हातले ‘प्रेमी वा श्रीमान्को हात’ । विदेशी हुन् या स्वदेशी हुआहिनमा घुमफिरेहरूले यसरी नै छल्दैछन् थाइल्याण्डको ‘प्रचण्ड गर्मी’ ।
थाई खानाको स्वाद चाखेर निस्किनै लाग्दा रेष्टुरेण्टको ढोकानिरै भेटिए उदय राई । ‘हुआहिन’मा गफिएका उनी पहिलो नेपालीभाषी थाई व्यापारी थिए । थाइल्याण्डको नेपाली समाजमा परिचित ‘समाजसेवी व्यापारी’ उदयले अमेरिका र युरोपसम्म आफ्नो व्यापार फिँजाएका रहेछन् । भारतको दार्जिलिङमा जन्मिएका उनी थाई नेपाली संघकी पूर्वअध्यक्ष वाड्सना राईका श्रीमान् हुन् ।
वाड्सनाको परिवार र उदयको ससुराली त्यहीँ हो— जसलाई थाइल्याण्डमा ‘पिलोके नेपाली’ भनेर चिन्छन् । थाई भूमिमा पहिलो पाइला उनका पिता—पुर्खाले टेकेको इतिहास ताजै छ । ‘अन्तो! थाइल्याण्डमा सारो गरम छ । तर हुआहिन एकदमै रमाइलो पनि छ । तपाईंंचाहिँ पातलो कपडा र छाताजस्तै टाउको र मुख छोप्ने टोपी लिनोस्,’ उदयले छोटो कुराकानीलगत्तै भने, ‘शरीर धूपले जले पनि अनुहारचाहिँ जोगाउनुपर्छ ल...!’ थाइल्याण्डमा घट्दो व्यापार, समुद्रको तटनेर राजाले बनाएको दरबार र हुआहिनको चर्चित नाइट मार्केटको रोचक किस्सा सुनाउँदै उनले भने, ‘गीत—संगीत, थाई भोजन, किनमेल र बियर बजारको रमझमचाहिँ हेर्न नभुल्नु नि !’
समुद्र पुग्नुअघि लहरै स—साना चम्किला छाप्राहरू छन् । सेतो पर्खालभित्र सजिएका रिसोर्टहरू खासै महँगा छैनन् । हिजोआज शहर र समुद्र गोराहरूले भरिएको छ । पर्यटकहरू बैंकक वा फुकेट हुँदै रेल्वे र गाडीबाट हुआहिन आउने गरेको दिपा कार्कीले बताइन् । ‘हुआहिनमा एयरपोर्ट छ तर फ्लाइट चल्दैन । टुरिष्टहरू मिनी—बस, बस र ट्रेनको माध्यमबाट आइरहन्छन्,’ उनले भनिन्, ‘पछि बैंकक फर्किन्छन् ।’
म्यान्मारकी नेपालीभाषी दिपा राजमार्गछेउको ‘सिजन प्लेस रिसोर्टमा वेटरको काम गर्छिन् । उनी हुआहिन आएको सात महिना भयो । यसअघि फुकेटमै थिइन् । त्यहाँ पनि रिसोर्टमै काम गर्थिन् । बैंकक, फुकेट वा पटायाका चोक—गल्ली छिचोल्दा नेपाली नै नेपाली ठोकिन्छन् । तर हुआहिनमा भने नेपाली देख्नै मुश्किल । थाइल्याण्डमा भेटिने सबैजसो नेपाली म्यान्माली नै हुन् । कोठाभित्रै पल्टिएका घुमक्कडहरू दिउँसो तीन बज्नैलाग्दा एकाएक सडकतिर निस्किन्छन् । साँझपख समुद्रको छालसित रमाइरहेका हुन्छन् पर्यटक । बालुवासित हराइरहेका हुन्छन् । त्यसपछि ‘नाइट मार्केट’तिर डुलिहिँड्छन् ।
बाटो—बाटोमा पाहुनालाई पर्खिरहेका थिए— टुकटुक, बाइक राइडर र ट्याक्सी ड्राइभर । नरिवलको बोटमुनि सुतिरहेका थिए उनीहरू । कतिपय ‘शीलत छाया’को ओतमा थिए । विदेशीलाई देखेपछि जर्याकजुरुक उठे । मुस्कुराउँदै भने, ‘सवाडी खाप्’ । (नमस्कार हजुर । ) ‘पाइ ठिनाई खाप् ?’ (कहाँ जानुहुन्छ?)
खैरेहरू ‘लट् डाइमाई खाप्’ भन्दै स्थानीय भाषामा टुकटुकलाई जिस्काउँछन् । ‘हेभ् अ डिस्काउन्ट्’ भन्दै खित्का छाड्छन् । र, टुकटुकमा बस्छन् । थाईहरू नम्र हुन्छन् । उनीहरू हाँसो लुकाउँदैनन् । पर्यटकसँग चर्को स्वरमा, झर्को लाग्नेगरी बोल्दैनन् । घुमन्तेहरूलाई सम्मान नै गर्छन् ।
‘हाँस्दै—रमाउँदै पर्यटकको एकहुल’ टुकटुक, बाइक र ट्याक्सीमा समुद्रीतिर हिँड्छ । साह्रै गर्मी । उर्लिरहेको छाल । नीलो पानीमाथि तैरिरहेका बोट । तटमा रमाइरहेका पर्यटक । बालुवामाथि बालुवाको घर । बालुवामा कुलो खनिरहेका बालबालिका ।
समुद्रअघि ठडिएको अग्लो पहाड, बुद्धको मूर्ति र मंकी हिल । छेउतिरको घाँसे मैदान । समुद्रको छाल लुक्दा देखिने चट्टान र बालुवाले ढाकेका धारे पत्थर । पटायाभन्दा भिन्नै लाग्यो ‘हुआहिन’ । अलग्गै थियो समुद्र, गगन र पृथ्वीको क्षितिज । सेतो, कालो र रातो रंगका घोडाहरू छालसँगै दौडिरहेका थिए । पर्यटकहरू घोडामाथि चढेर घुमिरहेका ।
‘आउ माइ खा’? (केही लिनुहुन्छ?) भन्दै स्थानीय महिलाहरू पाहुनातिरै झुम्मिए । पर्यटकहरू आ–आफ्नै धुनमा थिए । कतिले ती महिलाका सरसामान किने त, कतिले किनेनन् । तैपनि तिनीहरू नयाँनयाँ मानिस देख्यो कि कुँदिहाल्थे ।
ठिटाठिटी, केटाकेटी र बूढाबुढीहरू छालमा डुबुल्की मारिरहेका । कतिचाहिँ समुद्री खानाको स्वादमा रमिरहेका । नानीबाबुहरू कुकुर डो¥याउँदै स—परिवार तीरैतीर हिँडिरहेका । समुद्रको नुनिलो पानीले मुखै बिगार्छ । शरीरका घाउ—भोट चर्काउँछ । कपाल फुस्रो बनाउँछ । टाउकोबाट कत्ला निस्किन्छन् । समुद्री हावाको आनन्द लिइरहेका मानिसहरू धेरैजसो विदेशी नै । रसियन, युरोपेली, भारतीय र चाइनिज पर्यटकहरू तट वरपर टन्नै भेटिए । उर्लिंदो छाल नियाल्दै खुट्टा र टाउकोको मसाज गर्नेहरू विदेशी नै थिए । थाई महिलाहरू २ सय ५० भाटमा शरीर मिच्दै बस्छन् । दर्जनौँ मानिसहरू ‘फुट र हेड मसाज’को मजा लिइरहन्छन् । थाई मसाज सबैलाई मन पर्छ ।
‘मैले हुआहिन पारिवारिक तट देखेँ,’ भारतीय नागरिक महेशकुमारले भने, ‘कसैको डर छैन । म एक्लै घुम्न सक्छु । यहाँ कुनै युवतीको चकचक पनि देखिनँ । कसैले पनि मेरो हात समातेन । किनकि म पटायामा होइन, हुआहिनमा छु ।’ तर बैंकक, पटाया र फुकेटमा ‘ट्यापे, मगन्ते र यौनकर्मी’को आतंक छ । महेशकुमार तीन वर्षदेखि थाइल्याण्डको हुआहिनमै छन् । अरबी र थाई नागरिकले चलाउँदैआएको एक समुद्री रिसोर्टमा कुकको काम गर्छन् । शनिबार वा आइतबार सार्वजनिक बिदाको दिन तट र पार्कतिरै भेटिन्छन् । कहिलेकाहीँ एक्लो यात्रीले सोच्छ, ‘समुद्रको छालपट्टी उभिएर प्रेमिकासँग टिकटक बनाउनेहरूको पो जिन्दगी ! मजस्तो एक्लै—एक्लै पानी खेल्दै हिँड्नेको के जिन्दगी !’
दिन ढल्किँदै जाँदा समुद्रको छाल बालुवातिर उक्लिन्छ । घोडाहरू तबेलातिर लाग्छन् । सडक—व्यापारीहरू बालुवामा गाडेका छाताहरू निकाल्न थाल्छन् । एकैछिनमा तटको चहलपहल कम हुँदै जान्छ । सूर्य डुब्नै लाग्दा विदेशीहरू ‘द नाइट मार्केट’तिर दौडिन्छन् । हुआहिन साम्य छ, समुद्र शान्त । त्यसै पनि शाही परिवारले रुचाएको ‘समुद्री—शहर’ रहेछ । एकताका राजा—महाराजाले बैंककको गर्मी छल्ने शहर रहेछ ‘हुआहिन’ ।
प्रकृतिले दिएको विशाल समुद्र र मानवनिर्मित विकासले ‘राजाको देश’लाई रंग्याएको छ । ‘हुआहिन’ बैंकक वा अन्य शहरभन्दा बेग्लै छ । पर्यटकीय नगरीको इतिहास थाइल्याण्डको राजदरबारसित जोडिएको बताउँछन् थाई नेपाली संघका संरक्षक कुमार कार्की । ‘हुआहिन ऐतिहासिक शहर हो नि ।
बीचको छेउमा राजाको भव्य दरबार पनि छ । पहिलेपहिले राजा—रानी र शाही परिवारका सदस्यहरू तातो छल्न त्यहाँ जान्थे रे! त्यसैले त्यो शहरको एकदमै महत्व छ,’ उनले भने । हुआहिनलाई अनेकौँ नाम दिइँदोरहेछ— समुद्रछेउको पहिलो शहर । माछा मार्नेहरूको शहर । प्रेमिकाको शहर । बाँदरहरूको शहर । शाही परिवारको शहर । अर्थात्, एउटा सग्लो इतिहास भएको ‘थाई शहर’ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू