देशमा डरलाग्दो स्थिति देखिँदै

देशमा डरलाग्दो स्थिति देखिँदै
सुन्नुहोस्

एक संघीयसहित प्रदेशमा सात वटा सरकार ! अर्कातिर ७ सय ५३ स्थानीय तह । एउटै प्रदेशमा डेढ वर्षभित्र पाँचपटक मुख्यमन्त्री हेरफेर । कतै यस्ता कुराले खर्च, राजनीति र प्रणालीमाथि नै विचार गर्नुपर्ने हो कि भन्ने ठाउँमा त पुर्‍याउँदै छैन ? 

अदालतबाट न्यायाधीशपिच्छे फरक फरक आदेश । कोशी प्रदेशको हकमा एउटा, गण्डकीमा अर्को नजिर । एक महिनामै फेरिने मुख्यमन्त्रीले कर्मचारीसँग परिचयसम्म गर्न पाएका हुँदैनन्, अदालतले फरक–फरक व्याख्या गर्दै हटाइदिन्छ । अर्कातिर, विकास बजेट सांसद र मन्त्री पाल्दैमा खर्च हुने गरेको छ । पूर्वपश्चिम रेगमार्ग बनिसक्ने पैसा प्रदेश सरकार र सांसदको जीविकामा खर्च भएको छ । ९–१० कक्षामा पढ्ने विद्यार्थीलाई भविष्यमा के बन्ने भन्दा विदेश जाने भन्छन् । यही रफ्तारले युवा जनशक्ति पलायन हुने हो भने ५–७ वर्षमा लोकसेवाको जाँच दिने, सेना–प्रहरीमा भर्ना हुने मान्छे पाइँदैन । वैवाहिक जीवनसम्म अस्तव्यस्त हुने स्थिति छ । यतै बस्ने केटाले केटी र केटीले केटा पाउन गाह्रो हुँदैछ । विवाह गर्ने उमेरका युवा पलायन हुने रफ्तार बढ्दो छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको हकमा यसअघि न्यायाधीश सपना प्रधान मल्लसहितको डिभिजन बेञ्चले ६० सांसदको बहुमत ३० ले पुग्ने व्याख्या गरिदिएको थियो । एमालेनिकट मानिने न्यायाधीशको उक्त आदेश काट्दै अहिले फेरि कांग्रेसनिकट मानिने कुमार रेग्मी र सुनील पोखरेलको बेञ्चले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको नेतृत्वमा सरकार बनाउन आदेश दिएको छ । यो आदेशले नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री त बनायो तर टिक्ने कसरी ? अब बन्ने सरकार नटिक्नासाथ मध्यावधि निर्वाचन गराउने सुविधासहितको कोही व्यक्ति मुख्यमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसैले अदालती चक्करमा कोशी, गण्डकीलगायत प्रदेश सरकारहरु धरापमा पर्दै संघीयता नै झन् बदनाम हुने खतरा छ । 

उता, कोशी प्रदेशमा डेढ वर्षमा पाँच सरकार बनिसके । निर्वाचनलगत्तै ठूलो दलका हैसियतले हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएकोमा केन्द्रको सत्ता गठबन्धनबाट एमाले हट्नासाथ फेरि कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने । केही समयमै सर्वोच्च अदालतको परमादेशअनुसार हिक्मत कार्की फर्किए । हिक्मतलाई टिक्न गाह्रो हुने भएपछि एमालेकै पहलमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बने । अहिले फेरि हिक्मत आएका छन् । यसबीच थोरै सरकार बनेको कर्णाली प्रदेशले नै दुई जना मुख्यमन्त्री फेरिसक्यो । कसैसँग सुविधाजनक संख्या नहुँदा केन्द्रको राजनीति तलमाथि भएकै आधारमा सुदूरपश्चिम र लुम्बिनीमा त्यस्तै हालत छ । 

अहिले गण्डकीको घटनालाई हेर्दा संघीय सरकारमा पनि रवि लामिछाने यताउता हुँदा ‘ठूलो दल’ को अभ्यासमा जानुनपर्ला भन्न सकिन्न । यस्तै कुरालाई दृष्टिगत गर्दै एमाले अध्यक्ष केपी ओलीले जसपा फुटाएको हुनुपर्छ । फुटेको जसपाबाट ७, उन्मुक्ति फुटाएर त्यहाँबाट २ सांसद आर्जन हुँदा एमाले ८८ सीटको हुन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू