गृहमन्त्रीको हुकुमी शासन मान्दैनौँ भन्दै माननीयहरु कराए
ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा उभ्याउने गृहमन्त्रीको विवादास्पद निर्णय सच्याउन माग गर्दै संसदमा आवाज उठेको छ ।
आज प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले हुकुमी शैलीमा गरेको उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । कानुनी राज्यमा कसैले आदेश दिएर शासन चलाउन नपाउने उनको धारणा छ ।
'मुलुक हुकुमी शासनमा चल्ने होइन । कानूनअनुसार चल्नुपर्छ । कुनै पनि काम गर्दा कानून निर्माण गरेर, कानूनी राज्यअनुसार चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो',सांसद खतिवडाले भने ।
गृहमन्त्रीको आदेशमा मानिसलाई सडकमा उभ्याउन नपाइने बताउँदै उनले गर्नैपर्ने भए कानून बनाएर गर्न सुझाव पनि दिएका छन् । टिभीमा हुँदाजस्तो कराएर र ट्वीट गरेर मुलुक नचलाउन पनि खतिवडाले गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराए ।
'मापसे गरेका मान्छेलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे । यो कुन कानूनमा र कुन नियममा छ ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि ? मन्त्रालयबाट पत्राचार भएको छ कि ?', उनले सोधे, 'यसरी मुलुक चलाउने शासन पद्धतिको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी बिरुद्धमा छौँ । त्यसैले कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानूनअनुसार मुलुकलाई अगाडि बढाउनु पर्दछ ।'
पहेँलो ज्याकेट लगाउने सबै मान्छे मापसेयुक्त हुन् भन्ने सन्देश दिएर के गर्न खोजेको भन्दै उनले यस्तो कुरा तत्काल बन्द गर्नुपर्नेमा जोड दिए । मिडिया ट्रायल गरेर मन्त्रालय चलाउन नपाइने जनाउँदै सांसद खतिवडाले यस सम्बन्धमा सभामुखको रुलिङसमेत माग गरे ।
टिप्पणीहरू