चौधरीकी बुहारीलाई आरोप नलाउन आदेश

चौधरीकी बुहारीलाई आरोप नलाउन आदेश
सुन्नुहोस्

विवादास्पद व्यापारी तथा कांग्रेस सांसद विनोद चौधरीकी जेठी बुहारी आश्रयता कार्कीलाई जिल्ला अदालत ललितपुरले समाचारको शीर्षक मात्रै पढेर सञ्चारमाध्यमलाई आरोप नलगाउन तथा मुद्दामामिला नगर्न आदेश दिएको छ ।

जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित समाचारले आफ्नो व्यक्तिगत चरित्र, पारिवारिक सम्बन्ध, आचरण, नैतिकता तथा ख्यातिलाई होच्याएको आरोप लगाउँदै उनले गत वर्ष जेठ ४ गते मुद्दा हालेकी थिइन् । यसउपर पुस १ गते भएको फैसलाको पूर्णपाठ भर्खरै सार्वजनिक भएको छ । जसमा न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले जनआस्थामा प्रकाशित समाचारबाट चौधरीकी बुहारी र परिवारलाई कुनै हानी नोक्सानी नपुर्‍याएको ठहर गरेको छ । 

जनआस्थाले ‘अर्बपतिकी बुहारी माग्ने, ससुरा र श्रीमान लुकाउने’ शीर्षकमा निकालेको समाचारप्रति उनले आपत्ति जनाएकी थिइन् । त्यससँगै बुहारी चौधरी मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ विपरित नैतिक पतन देखिने कसूरअन्तर्गत जनआस्था टिमलाई हतोत्साहित गर्न सोही संहिताको दफा ३०७ बमोजिम हदैसम्मको सजायँ माग गर्दै अदालत गइन् । 

तर, अदालतको ठहर खण्डमा लेखिएको छ, ‘उक्त समाचारबाट वादी तथा निजको परिवारलाई होच्याउने नियतले के कस्तो बोली वचन, अपमानजनक शव्द प्रयोग भयो भन्ने फिराद दाबीमा कहीँ–कतै खुलाएको पाइँदैन ।’ बुहारी आफैँँले ससुरा, देवरहरू र श्रीमानको स्वामित्वमा रहेका चौधरी ग्रुपका धेरै वटा कम्पनीले कमाएको नाफाबाट संस्थागत सामाजिक उत्तरदायित्व वहन नगरेको आशय उल्लेख गर्दै जारी गरेको विज्ञप्तिको आधारमा जनआस्थाले प्रकाशित गरेको समाचारलाई अदालतले अन्यथा भन्न नमिल्ने बताएको छ । 

फैसलामा भनिएको छ, ‘प्रतिवादीले फिरादीप्रति दोष तथा घृणा फैलाउने नियत नरहेको भन्ने उल्लेख गरेको र वादीले समेत आफूबाट निकालिएको प्रेस विज्ञप्ति फिरादसाथ राखी प्रस्तुत मुद्दा दायर गरेको, सो विज्ञप्ति आफ्नो होइन भन्न सकेको समेत पाईंदैन । यस अवस्थामा प्रकाशित उक्त समाचारबाट वादीलाई फिराद दावीबमोजिमको गाली बेइज्जती भएको नदेखिँदा प्रस्तुत मुद्दामा कसूर ठहर गर्न मिलेन । तसर्थ हदैसम्मको सजायँ गरिपाऊँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ ।’

 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू