महासंघ अध्यक्षद्वारा नेपालमा लगानी गर्न बेलायतीलाई आग्रह

महासंघ अध्यक्षद्वारा नेपालमा लगानी गर्न बेलायतीलाई आग्रह
सुन्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा बेलायती लगानीको निम्ति अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग अस्ति भएको भेटवार्तामा उनले उक्त अनुरोध गरेका हुन् । 

नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे जानकारी गराउँदै उनले यसतर्फ आकर्षित गर्न सरकारले प्रोत्साहनसँगै लगानी सम्मेलन आयोजना गर्दै आएको बताए । भेटमा ढकालले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेकोले दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न समेत आग्रह गरेका छन् । 

उनले निजी क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको पनि बताए । नेपालमा वैदेशिक लगानी भित्रिएमा निजी क्षेत्रले थप योगदान दिनसक्ने बताउँदै अध्यक्ष ढकालले यहाँ व्यवसाय गर्न वातावरण सहज भएको समेत जानकारी गराएको बताइएको छ । 

महासंघको सुझावमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठ वटा लगानी ऐन परिमार्जन गरेको र मुलुकमा जलविद्युत, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको राजदूतसँगको भेटमा उल्लेख गरे । 

भेटवार्तामा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले व्यापार विस्तारको बारेमा आफ्नो धारणा राखेका थिए । लगानी फोरमका सभापति मनोज पौडेलले नयाँ लगानीका अवसरबारे राजदूत फेनलाई जानकारी गराएका हुन् । 

प्रत्युत्तरमा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा महासंघलाई धन्यवाद दिएका छन् । त्यस्तै दोहोरो करमुक्ति सम्झौताप्रति चासो राखेको बताइन्छ ।

टिप्पणीहरू