कमरेडको हुलैद्वारा कित्ताकाट

कमरेडको हुलैद्वारा कित्ताकाट

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इञ्चार्ज एवं उपमहासचिव गिरिराजमणि पोखरेलको कार्यक्रम केन्द्रीय र जिल्ला नेताहरूले बहिष्कार गरेका छन् । सुदूरपश्चिममा सञ्चालन गरिने दुईमहिने रूपान्तरण अभियानको अभिमुखीकरण कार्यक्रम तथा जिल्ला पार्टीको विस्तारित बैठकका लागि जेठ ८ गते दार्चुला पुगेका पोखरेलको कार्यक्रम बहिष्कार गरिएको हो । 

जिल्ला पार्टीको आयोजनामा सम्पन्न कार्यक्रममा ६ जना केन्द्रीय सदस्य र ४ स्थानीय तहका सरकार प्रमुखहरू अनुपस्थित थिए । दार्चुला गृहजिल्ला भएका केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशी, ललितसिंह ठगुन्ना, निर्मला जोशी तथा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी, जमनसिंह धामी र गणेशसिंह खत्री प्रदेश इञ्चार्ज सहभागी कार्यक्रममा गएनन् । 

जिल्लास्तरीय कार्यक्रममा सहभागी हुन पोखरेलसहित सहइञ्चार्ज विना मगर, केन्द्रीय सदस्य लक्ष्मी बिक र प्रदेश अध्यक्ष हरि चौधरी जेठ ७ गते दार्चुला पुगेका थिए । आफूहरूसँग समन्वय नभएको र न्यायोचित रूपमा जिम्मेवारी बाँडफाँड नगरिएकोले कार्यक्रम बहिष्कार गरेको एक नेताले बताउनुभयो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश इञ्चार्जमा नारायणकाजी खेमाका पोखरेल र सहइञ्चार्जमा बुहारी विना मगरलाई जिम्मेवारी दिएपछि सुदूरपश्चिम प्रदेशभरि असन्तुष्टि चुलिएको छ । प्रदेशस्तरको असन्तुष्टि जिल्लाको कार्यक्रममा पनि देखिएको एक नेताको भनाइ छ । 

एमालेसँग पार्टी एकता भएर बनेको नेकपाको प्रदेश सहइञ्चार्ज हुँदै एकाएक उच्चस्तरको नेतृत्वमा पुर्‍याइएका लक्ष्मणदत्त जोशी अहिले जिम्मेवारीविहिन जस्तै छन् । केही महिनाअघिसम्म पोलिटब्युरो सदस्य रहेका उनलाई केन्द्रीय सदस्यमा झारिएको छ । पूर्व प्रदेशसभा उपसभामुखसमेत रहेकी निर्मला बडाल र केन्द्रीय सदस्य ललितसिंह ठगुन्नाले केन्द्रीय सदस्यमात्रै पाएको तर कुनै प्रकारको भूमिका नदिएको भन्दै गुनासो पोख्ने गरेका छन् । 

वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका मानबहादुर धामी पनि जिम्मेवारी बाडँफाँडप्रति असन्तुष्ट छन् । आफ्नै जोडबलमा बहुमत पु¥याएर संसदीय दलको नेता भएका उनी प्रदेश र जिल्लास्तरको जिम्मेवारी बाँडफाँड न्यायोचित हुनुपर्नेमा अडिग छन् । वैकल्पिक केन्द्रीय सदस्यहरू जमनसिंह धामी र गणेश सिंह खत्री पनि असन्तुष्ट रहेकै कारण प्रदेश इञ्चार्ज सहभागी कार्यक्रममा अनुपस्थित भएको माओवादी केन्द्र स्रोतले बतायो । 

जिल्लास्तरको कार्यक्रम उपयुक्त समयमा निर्धारण नगरिएकाले सहभागी हुन नसकेको केही नेताले बताए । दार्चुलाका ९ स्थानीय तहमध्ये चार वटामा माओवादी केन्द्रको नेतृत्व छ । जेठ ८ गतेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिसमेत अनुपस्थित भैदिए । अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी कार्यक्रममा गएनन् । ठेकरेले गाउँ कार्यपालिका बैठक भएकाले उपस्थित हुन नसकेको बताएका छन् भने लेकमका जोशी धनगढीमा रहेको र मार्मा अध्यक्ष सुर्खेत भ्रमणमा रहेकाले पार्टी कार्यक्रममा सहभागी हुन नसकेको जानकारी दिइएको छ । 

यसैगरी, व्यास गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवर त्रिदेशीय सीमाक्षेत्र अनुगमनमा निस्केपछि कार्यक्रममा सहभागी भएनन् । नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी र मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्याणसिंह धामी मात्रै कार्यक्रममा देखा परे । 

जिल्लास्तरीय पार्टी कार्यक्रममा व्यापक सहभागिताका लागि जेठ ६ गते नै सूचना जारी गरिएको थियो । उक्त कार्यक्रममा जिल्लाभरिका सबै अगुवा नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई सहभागी हुन भनिएको थियो । सो कार्यक्रममा ३५ देखि ४० जनासम्म मात्रै रहेको एक सहभागीले बताए । 

पर्याप्त समय र तयारीको अभावले पार्टी कार्यक्रममा न्युन सहभागिता भएको माओवादी केन्द्रका जिल्ला संयोजक प्रेम पन्तले बताउनुभयो । ‘समय अभावले धेरै तयारी हुन सकेन, बैतडी र बझाङ जिल्लाको पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन आएको  नेतृत्वले दार्चुला पनि जाऊँ भनेपछि तत्कालै कार्यक्रम राखिएको हो’ उहाँले भन्नुभयो । 

प्रदेश इञ्चार्जसहितको टोलीले बैतडीमा ७ गते र बझाङमा जेठ ९ गते पार्टी कार्यक्रम गर्ने तय भएको थियो । दार्चुलाको कार्यक्रम पूर्वनिर्धारित नभएकोले छोटो तयारीमै जेठ ८ गते राखिएको जिल्ला संयोजक पन्तको भनाइ छ । असार अन्तिम साताभित्र जिल्लास्तरमा ३ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने नेता र कमिटीहरूको सम्पर्क मोबाइल नम्बरसहितको अभिलेख तयार गर्ने पनि भनिएको छ । यसबीच, प्रदेश इञ्चार्ज पोखरेलले आफूनिकट यसबीच लक्ष्मी बिकलाई जिल्ला इञ्चार्ज बनाउने सम्भावना छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू