एमाले अध्यक्षलाई अर्थमन्त्रीको जवाफ : बजेट जनतातिर ढल्केको छ
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट माओवादी केन्द्रतिर नभई जनतातर्फ ढल्केको प्रतिक्रिया दिनुभएको छ ।
सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘बजेट माओवादीतिर ढल्केको’ भन्दा कतिको दबाब महशुस हुन्छ ? भन्ने प्रश्नको जवाफमा अर्थमन्त्रीको उक्त प्रतिक्रिया आएको हो ।
एमाले अध्यक्षले केही दिनअघि संसदीय दलको बैठकमा अर्थमन्त्रीको बजेट पार्टीतिर ढल्केको बताउनुभएको थियो । तर, पुनले भने माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आएपनि यथार्थमा त्यस्तो नभएको दाबी गर्नुभयो ।
‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । नेकपा माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन् । यथार्थ होइन’, अर्थमन्त्रीले भन्नुभयो, ‘मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खासगरी युवाहरुमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ ।’ उहाँले हरेक तीन वर्षमा कर्मचारीहरुको तलब् वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष वृद्धि हुने पनि स्पष्ट पार्नुभयो । मजदुरहरुको पारिश्रमिक निर्धारण गरी बजेटलाई मजदुरमैत्री बनाउने नीति लिएको पनि उहाँको भनाई छ ।
‘हरेक तीन वर्षमा कर्मचारीहरुको तलब वृद्धि हुन्छ । अहिले दोस्रो वर्ष चल्दैछ । तेस्रो वर्ष त्यस विषयमा सोच्नेछौं । त्यो कानूनी व्यवस्था नै छ । मजदुरहरुको दुई वर्षमा तलब निर्धारण हुन्छ त्यो भइसकेको छ । बजेट मजदुरमैत्री नीति सरकारको छ’, अर्थमन्त्री भन्नुहुन्छ ।
सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रुपमा परिणाम निकाल्ने पनि अर्थमन्त्री पुनको प्रतिबद्धता छ ।
टिप्पणीहरू