औषधि सिफारिस चिकित्सकको स्वतन्त्र अधिकार : संघ

औषधि सिफारिस चिकित्सकको स्वतन्त्र अधिकार : संघ

नेपाल चिकित्सक संघले बिरामीको रोग हेरेर औषधि सिफारिस गर्ने चिकित्सकको स्वतन्त्र अधिकार भएको जनाएको छ । औषधि व्यवस्था विभागको हवाला दिँदै विभिन्न अस्पताल प्रमुखहरुले विविध औषधि एवम् खाद्यपूरक सामग्रीहरु सिफारिस गरेमा कारबाही गर्ने चेतावनी दिएपछि संघले यसो भनेको हो । 

सरकारको विभिन्न निकायमा दर्ता भएको औषधि सिफारिस गर्दा कारबाही गर्ने चेतावनी दिएकोमा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै संघले चिकित्सकलाई हतोत्साहित नबनाउन आग्रह गरेको छ । त्यस्तै, संघले औषधि सिफारिस गर्ने आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिल भएको स्पष्ट पारेको छ । 

‘चिकित्सकहरुसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्थाअनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको र के–कस्ता औषधि सिफारिस गर्ने वा नगर्ने भन्ने कुरा नियमन गर्ने आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिल भएको कुरा पनि स्मरण गराउन चाहन्छौं । त्यसैले यस्तो सूचना जारी गरी चिकित्सकीय सेवामा अनावश्यक दखल पुर्याई चिकित्सकहरुलाई हतोत्साही नगराउन नेपाल चिकित्सक संघ सम्बन्धित सबैलाई आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू