सीताको नामले सन्नाटा

सीताको नामले सन्नाटा

बजेटमा सीताको बयान सुनेपछि एमाले अध्यक्ष केपी ओली झस्किनुभयो र भन्नुभयो, ‘जे मन लाग्छ, त्यही भन्नुस् !’

बजेट भाषणमा प्रधानमन्त्री प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको नाममा नेचुरोप्याथी अस्पताल खोल्नेसहित विभिन्न विषयमा विनियोजित शीर्षक र आफ्नो सरोकारका शीर्षकमाथि गरिएको बेवास्ताका कारण ओली बजेटप्रति रुष्ट हुनुभएको बताइन्छ । त्यसैले आफ्ना सांसदलाई बजेटबारे मन लागेको बोल्न छूट दिनुभएको हो । 

अर्को पनि विषय छ, ‘प्रधानमन्त्री छोरी शिक्षा कार्यक्रम’ को । त्यही कुरालाई ‘छोरी पढाउने कार्यक्रम’ मात्रै भनेको भए पनि हुन्थ्यो । पारिवारिक रूपमा रेणु र गंगा दाहाललाई चम्काउने काम यसबाट हुन गयो भन्ने ओलीको गुनासो छ । यो कार्यक्रम पहिल्यै बागमती प्रदेशमा शुरु भइसकेको थियो ।

सामुदायिक विद्यालयबाट उत्तीर्ण भई सामुदायिक क्याम्पसमा पढ्ने छोरीहरूलाई छात्रबृत्ति दिने भनिएको थियो । त्यसबेला कुन कलेजले छात्रालाई छात्रबृत्ति दिन्छ, उसले निवेदन दिएर उक्त कार्यक्रम पाउने गरेका थिए ।

तर, त्यसमा राम्रोसँग काम भएन । देशका ७ सय ५३ स्थानीय तहमध्ये बागमती प्रदेशमा मात्रै १ सय १९ वटा क्याम्पस छन् । त्यसमा एक–एक जना दलित छात्रालाई छात्रबृत्ति दिने, तीन वर्षीय तालिम दिएर त्यो पालिकामा काम लाग्ने विषय के हुन सक्छ ? त्यस आधारमा नर्सिङ, अमिनी तालिममध्ये केही न केही चलाउने भनिएको थियो । यसमा कतिपयले ‘जागिर दिनुपर्छ, नत्र हामीलाई गाह्रो हुन्छ’ पनि भने ।

गाउँपालिका अध्यक्षले सधैंभरि आफू नै भइराख्छुझैँ व्यवहार गरे । त्यसैले संस्थागत विकासमा ध्यान नै गएन । अर्थात्, अर्को चुनावबाट अर्को पार्टीको मान्छे आउन सक्छ भनेर बुझेनन् । यदि त्यो काम गरेको भए एउटा संस्थाको लागि यो एउटा बलियो आधारका रूपमा तयार हुन्थ्यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू