डाक्टरको स्वागतमा २१ तोपको झल्को, अस्पतालका बिरामी त्रसित

सवारी साधनलाई हर्न बजाउन निषेध गरिने अस्पताल परिसरभित्रै शक्तिशाली पटाका पड्काइएको छ । अस्पतालमा आएका नयाँ डाक्टरको स्वागतमा पड्काइएको पटाकाका कारण कपिलवस्तु जिल्ला अस्पतालका बिरामी तर्सेका छन् । 

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.किशोर बञ्जाडेको स्वागतमा उनका निजी क्लिनिकका कर्मचारी तथा अस्पताल भित्रैका केही कर्मचारीले परिसरभित्रै पटाका पड्काएका हुन् । खुशियालीमा पड्काएको पटाकाले उपचारका लागि आएका बिरामी, आकस्मिक कक्षमा रहेका बिरामी तथा भर्ना भएका बिरामी त्रसित बनेको बताइन्छ । 

२०७५ सालदेखि मेडिकल सुपरिटेण्डेन्ट रहेका बञ्जाडेलाई स्थानीयबासीको चर्को विरोधपछि गत वर्ष स्वास्थ्य मन्त्रालयमा तानिएको थियो । त्यसपछि सेटिङ मिलाएर पुनः गुल्मी अस्पतालको मेसु बनेका उनी कपिलवस्तुको तौलिहवास्थित आफ्नै बुद्ध क्लिनिकमा कार्यरत थिए । एमाले स्वास्थ्यकर्मी संघ आबद्ध बञ्जाडेले लुम्बिनी प्रदेश सरकार फेरिए लगत्तै कपिलवस्तु अस्पतालमा आउन प्रपञ्च रचेका थिए । 

यसैबीच प्रदेश स्वास्थ्य मन्त्रालयले जेठ १८ गते डा. बञ्जाडेलाई कपिलवस्तु जिल्ला अस्पतालमा मेसुको जिम्मेवारी दिएर खटाएको हो । आज पदभार ग्रहण गर्ने क्रममा उनका समर्थकहरुले अस्पताल हाताभित्रै शक्तिशाली पटाका पड्काएका हुन् ।     

बेमौसममा उक्त आवाज सुनेपछि अस्पताल नजिकैको तौलेश्वर संस्कृत माविका विद्यार्थीहरु समेत डराउँदै विद्यालय परिसर बाहिर निस्केको विद्यालय कर्मचारी गिरीजेश पाण्डेले बताए । स्थानीय युवा गोपीकृष्ण शर्माले अस्पताल परिसरबाट सय मिटर दूरीमा रहेको जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले समेत यस्ता अपराधिक क्रियाकलापबारे मौनता साँधेको भन्दै गुनासो गरे । 

अस्पतालमा बिरामीका कुरुवाहरुले समेत पटाका पड्काएकोमा आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् । यसअघि पाँच वर्ष मेसु हुँदा बञ्जाडे पटक पटक विवादमा आएका थिए । महिला स्वास्थ्कर्मीमाथि दुर्व्यवहार, कोरोनाकालमा चरम लापरबाही, अस्पताल सामाग्री तथा औषधी खरिदमा चरम भ्रष्टाचार, अयोग्य कर्मचारी भर्ना, निजी अस्पतालहरुमा बिरामी रिफर गर्ने र अधिकांश समय निजी क्लिनिकमै बस्ने गरेको आरोप लागेको थियो ।

टिप्पणीहरू