‘पोस्ट बक्स’ बन्यो फोहोर फाल्ने डब्बा
हुलाक सेवा अर्थात चिठ्ठीपत्र आदान–प्रदान गर्ने भरपर्दो माध्यम । हुलाकसँग नेपालीको एकदमै गहिरो साइनो छ । कुनै समय यो निकै लोकप्रिय माध्यम थियो । हुलाकमार्फत नै चिठ्ठीपत्र आदान–प्रदान गरिन्थ्यो । हातले लेखेको चिठ्ठी हुलाकमार्फत महिनौं लगाएर सम्बन्धित व्यक्तिकहाँ पु¥याइन्थ्यो । १९३५ सालमा हुलाक घरको स्थापना भएपछि हुलाक सेवाको औपचारिक सुरुवात भएको हो । त्यसपछि १९३७ मा तारिख टाँचाको प्रयोग गरियो । १९३८ मा पहिलोपटक नेपाली हुलाक टिकटको प्रकाशन भयो ।
सूचना प्रविधिको विकाससँगै हुलाक सेवा संकटमा परेको छ । भ्याइनभ्याई हुने हुलाकका कर्मचारी आजभोलि फुर्सदिला देखिन्छन् । चिठ्ठीपत्र पठाउने चलन हट्दै गएको छ । न कार्यालयमा चिठ्ठी आउँछ न पुर्याउन हतारो हुन्छ । अहिले सबैको हात–हातमा स्मार्टफोन छ । घर–घरमा इन्टरनेट जडान गरिएको छ । म्यासेञ्जर, इन्स्टाग्राम, ई–मेललगायत थुप्रै एप्लिकेशन प्रयोगमा छ । सो एप्लिकेशनबाट क्षणिकमै सूचना आदान–प्रदान गर्न सकिन्छ । जसकारण हुलाकको उपयोगिता घट्दै गएको हो । मान्छे सहजताको भोगी बन्नुले पनि हुलाकको अस्तित्व धरापमा परेको छ । यता, ‘पोस्ट बक्स’ मा चिठ्ठीपत्र खस्न छोडेको छ । काठमाडौं उपत्यकाबाटै ‘पोस्ट बक्स’ हराउँदै गएको छ । विभागका सूचना अधिकारी ध्रुवराज आचार्यका अनुसार हुलाक प्रयोगकर्ता निरन्तर घट्दै गएका छन् । ‘पोस्ट बक्स’ मा चिठ्ठीपत्र नआउने भएकाले अधिकांशले आफ्नो ‘पोस्ट बक्स’ नवीकरण नगराएको उनको भनाइ छ । ‘पछिल्लो समय हुलाक प्रयोगकर्ता निकै घटेका छन् । चिठ्ठीपत्र लेखेर कसैले नपठाउने भएपछि अधिकांशले आफ्नो ‘पोस्ट बक्स’ बन्द गराएका छन् । धेरै प्रयोगकर्ता नवीकरण गर्न आएका छैनन्’, उनले भने । हाल कम्पनीहरूले मात्र ‘पोस्ट बक्स’ नवीकरण गराइराखेको विभागले जानकारी दिएको छ ।
शिथिल सेवा
मुलुकको हुलाक सेवा अहिले ‘कोमा’ मा छ । बिरामी हुलाक सेवालाई उपचार गर्नतर्फ सरोकारवाला निकायको ध्यान गएको छैन । प्रयोगकर्ता घटेको भन्दै ‘पोस्ट बक्स’ संरक्षणमा बेवास्ता गरिएको छ । ‘पोस्ट बक्स’ काम नलाग्ने डब्बाजस्तै बनेको छ । कतै ‘पोस्ट बक्स’ मा झार उम्रिएको छ त कतै खिया लागेको छ । काठमाडौं उपत्यकाभित्र ‘पोस्ट बक्स’ को अवस्था के छ ? यसविषयमा विभाग नै बेखबर छ । उपत्यकाभित्र रहेको ‘पोस्ट बक्स’ को यकिन तथ्यांक विभागसँग छैन । करिब १८ हजार ‘पोस्ट बक्स’ मध्ये पाँच हजार सञ्चालनमा रहेको सूचना अधिकारी आचार्यले जानकारी दिए । भनिन्छ, ‘समयअनुसार चल्न सकिएन भने सधैँ पछि परिन्छ ।’ हुलाक पछाडि पर्नुको कारण पनि त्यही नै हो । हुलाक सेवा अहिले पनि समयसापेक्ष बन्न सकेको छैन, पुरानै शैली छ ।
‘एक पालिका, एक हुलाक’ किन भएन कार्यान्वयन ?
०८० असोज २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘एक पालिका, एक हुलाक’ को घोषणा गरिन् । विश्व हुलाक दिवसको अवसर पारेर उनले सो अवधारणा सार्वजनिक गरेकी हुन् । ओझेलमा परेको हुलाकलाई पुनः उजागर गर्नका लागि सो नीति एकदमै प्रभावकारी भएको जानकारहरू बताउँछन् । तर, सो नीति कार्यान्वयनमा सरोकारवालाले निकै ढिलासुस्ती गरिरहेको छ । साउन १ गतेबाट सो कार्यक्रम कार्यान्वयनमा आउने विभागले जानकारी दिएको थियो । त्यसका लागि चालु आर्थिक वर्षमै बजेट छुट्याइएको र काम पनि अघि बढिसकेको सूचना अधिकारी आचार्य बताउँछन् । राष्ट्रिय किताबखानामा पद र कार्यालय पनि दर्ता भइसकेको उनको भनाइ छ । ‘पालिका भन्ने शब्द कुनै पनि नीतिनियममा उल्लेख नभएकाले हामीले त्यसलाई एक स्थानीय तह, एक हुलाक बनाएका छौं । जे भनेपनि यसको उद्देश्य हुलाकको अस्तित्वलाई जोगाइराख्नु हो । उक्त कार्यक्रमका लागि चालु वर्षमै बजेट विनियोजन भइसकेको छ । गत माघ २५ गते राष्ट्रिय किताबखानामा पद र कार्यालय दर्ता गराइसकेका छौं । ८० वटा युनिटमध्ये केहीको विवरणमा त्रुटि भएको छ । ६५ वटा साउन १ गतेबाट र अन्य साउनको अन्तिम साताबाट सञ्चालनमा आउँछ’, उनले भने । विभागअन्तर्गत जिल्ला हुलाक कार्यालय, हुलाक प्रशिक्षण केन्द्रलगायत कार्यालय छन् । यता, सरकारले हुलाक बचत बैंक खारेज गरेर त्यहाँको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेको छ । अतिरिक्त हुलाक खारेज गर्ने निर्णय अदालतमा विचाराधीन छ ।
चिठ्ठीपत्रको साटो ‘पार्सल’ पुर्याइँदै
व्यक्तिगत चिठ्ठीपत्र खस्न छोडेपछि गोश्वारा हुलाक कार्यालयले पार्सल, सरकारी चिठ्ठीपत्र, अदालती कागजपत्र ओसारपसार गर्न थालेको छ । त्यस्तै, कार्यालयले द्रूत डाँक सेवा (इ.एम.एस) पनि प्रदान गर्छ । विदेशमा रहेकाहरूले हुलाकमार्फत सामान पठाउने गरेका छन् । हुलाकमार्फत सामान पठाउँदा सस्तो पर्ने सेवाग्राहीहरूको भनाइ छ । कार्यालय प्रमुख बासुदेव रेग्मी भन्छन्, ‘अहिले चिठ्ठीपत्रभन्दा पनि पार्सलहरू हुलाकबाट बढी ओसारपसार हुन्छ । कार्यालयले इ.एम.एस, पार्सल ओसारपसारलगायत सेवा दिँदै आएको छ ।’
हुलाक कार्यालय सरकार र सर्वसाधारण दुवैबाट अपहेलित छ । सरकारले हुलाक कार्यालयलाई न आवश्यक स्रोतसाधन र पूर्वाधार दिएको छ न पर्याप्त जनशक्ति । जसका कारण सेवाको स्तर झनै खस्किँदो छ । गोश्वारा हुलाक कार्यालयमा ३६० कर्मचारीको दरबन्दी छ । तर, १७७ जना मात्र कार्यरत छन् । हुलाक कार्यालयमा कर्मचारी आउनै नचाहने जानकारहरू बताउँछन् । सरकारले पनि दरबन्दीअनुसार परिपूर्ति गर्न सकेको छैन । यता, हुलाक सेवा विभाग कर्मचारी थन्काउने अड्डा बनेको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू