क्यानमा घोटाला भएको एमाले सांसदको आरोप, छानविनका लागि आयोग गठनको माग
पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघ (क्यान)माथि आर्थिक अनियमितताको आरोप लगाउँदै छानविनका लागि आयोग गठनको माग गरेका छन् ।
सञ्चार माध्यममा प्रकासित समाचारको हवाई दिँदै उनले टि-ट्वान्टी विश्वकपमा आर्थिक घोटाला भएकाले छानविन गर्नुपर्नेमा जोड दिएका हुन् । आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै कोशीका पूर्वमुख्यमन्त्री समेत रहेका आचार्यले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानविन अघि बढाउनुपर्ने बताए ।
‘अमेरिका र वेस्ट इण्डिजको संयुक्त आयोजनामा टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरु भइरहेको र अनियमितता भइरहेको गुनासो आएकोले सरकारले यथाशिघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु', संसद बैठकमा उनले भने ।
खेलाडीलाई होटेलमा उभ्याई चन्दा उठाएर दुरुपयोग गरेको, अवैध रुपमा जर्सी अमेरिका लगेर महङ्गोमा विक्रि गरेको र त्यो रकम हिनामिना गरेको गुनासो आइरहेको बताउँदै उनले दोषीमाथि कारवाही हुनुपर्ने बताए । त्यस्तै, खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहीन ढंगले बिक्री गरि आर्थिक हिनामिना गरेको कुराप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
'अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसीसी टी-ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानविन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानविन गरोस् । दोषीमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु’, सांसद आचार्यले भने ।
त्यस्तै, सन्दीप लामिछानेलाई शुरुमै १५ सदस्यीय टोलीमा समावेश नगरेकाले अमेरिकाले भिसा नदिएको बताउँदै उनले क्यानको भूमिकामाथि चर्को असन्तुष्टि जनाए । नेपाललाई हराउने षड्यन्त्रअन्तर्गत यस्तो गरिएको उनको गम्भीर आरोप छ ।
'टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन्', आचार्यले भने, 'र, जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ?'
अनावश्यक मान्छेको नाम टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको उनको जिकिर छ । 'डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आइसीसीले अस्वीकार गर्यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठूलो आघात परेको छ', उनले भने ।
टिप्पणीहरू