‘नेपाल घुम्ने भारतीयलाई किन हेपियो ?’ : राप्रपा सांसद

‘नेपाल घुम्ने भारतीयलाई किन हेपियो ?’ : राप्रपा सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा ‘डाँका’को जस्तो व्यवहार गरिएको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरु स्थलमार्ग हुँदै नेपालमा आउँदा चेकिङमा कडाई गरिएको जनाउँदै असन्तुष्टि व्यक्त गरेका हुन् । पर्यटकलाई इज्जतका साथ स्वागत गर्नुपर्नेमा नेपाल घुम्न आउने भारतीयलाई राम्रो व्यवहार नगरिएको उनको आरोप छ । 

‘हामी छिमेकी मूलका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ । अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल बगलमा छन् । तर हामीले सहजीकरण गर्दैनौँ’, उनले भने, ‘ल्याण्ड रुटबाट भारतीय मोटरमा पर्यटक आउँदाखेरी नेपालमा डाँका पसेकोजस्तो व्यवहार गरिन्छ । १० ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ । हामीले पर्यटकहरुलाई सम्मानका साथ, इज्जतका साथ हाम्रो देशमा स्वागत गर्नुपर्ने आवश्यकता छ ।’

भारतीय पर्यटकले हजार र पाँच सयको नोट ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुर्व्यवहार गर्ने गरेको भन्दै उनले त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीको ध्यानाकर्षण गराए ।

‘हामीले के नियम गरेको छौँ ? ५०० रुपैयाँ र हजार रुपैयाँभन्दा कमको मात्रै भारु नोट ल्याउन पाइन्छ । ५०० को नोट ल्यायौँ भने बोर्डरमा सशस्त्रले समातेर दुव्र्यवहार गर्छ । अनि हामीले पर्यटनको कुरा गर्छौ ? यी सब फाल्तु कुरा हुन् । मिलाउनुस् प्रधानमन्त्रीज्यू । पर्यटनमन्त्रीज्यू । यो के तमासा गरेको ? आजकालको जमानामा ५०० रुपैयाँको नोट जेपमा नहालेर आउन् ? के गर्न खोजेको ? के भन्न खोजेको ?’, राणाको आक्रोश छ । 

तर, भारतीय रुपैयाँ एक सय दरकोभन्दा माथिको मुद्रा प्रयोगमा रोक नेपालको भन्दा भारत सरकारको हात बढी हुन्छ । कुनैपनि देशसँग आफ्नो मुद्राको बारेमा निर्णय गर्ने अधिकार पहिलो हुन्छ । भारतले नेपाल सरकारलाई एक सय दरका भारु बाहेक अन्य प्रयोगमा नल्याउन र एक जनाको साथमा भारतबाट नेपाल आउँदा बढीमा २५ हजार बोक्न पाइने नियम उतैको हो । भारत सरकारले आफ्नो मुद्राको प्रयोगबारे गराएको जानकारीबमोजिम नेपालमा भारुको प्रयोग सम्बन्धी नियम नेपाल राष्ट्र बैंकले बनाएको हो ।

 

टिप्पणीहरू