एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि चयनमा यस्तो मापदण्ड

एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि चयनमा यस्तो मापदण्ड

नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि बन्न कम्तिमा तीन वर्ष पार्टी सदस्यता लिएर काम गरेको हुनुपर्ने मादपण्ड तय गरेको छ । पार्टी गठनको तीन वर्ष नपुग्दै आगामी असारमा महाधिवेशन गर्न लागेको नेकपा एसले प्रतिनिधि चयनसम्बन्धी यस्तो व्यवस्था गरेको हो । 

अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा १०औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ । नेकपा एस एमालेबाट बिद्रोह गरी २०७८ भदौमा गठन भएको थियो । महाधिवेशनको मिति असार १६ सम्मको अवधिमा तीन वर्ष पुग्दैन । तर, पूर्ववत् पार्टीमा संगठित सदस्यता प्राप्त गरेकै मितिदेखि सदस्यता गणना हुनेगरी तीनवर्षे मापदण्ड बनाइएको हो । 

'दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका' अनुसूचीमा प्रतिनिधिको योग्यता उपशीर्षकअन्तर्गत थप प्रष्ट पारिएको छ, 'दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ । संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत पार्टीमा संगठित भएको मितिदेखिकै गणना हुनेछ । योग्यता नपुगेको व्यक्ति प्रतिनिधि भएमा प्रतिनिधि रद्ध हुनेछ ।' 

प्रतिनिधि छानिने क्षेत्र, अनुपात र संख्या र अनुपात प्रतिनिधि चयनमा कडा प्रावधान अपनाएको यो पार्टीले केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरूका हकमा भने नरम व्यवस्था गरेको छ । केन्द्रीय सदस्य र आयोगका नेताहरु आयोजकको हैसियतमा स्वतः महाधिवेशन प्रतिनिधि हुने गरी मापदण्ड तोकिएको हो ।

प्रतिनिधि छनोट गर्दा महिला, दलित, युवा लगायतका क्लस्टरको अनुपात मिलाउनुपर्ने जनाइएको छ । भूगोलका सङ्घीय निर्वाचन क्षेत्र र उपत्यका प्रदेश तथा सम्पर्क प्रदेश अन्तर्गतका जिल्ला कमिटीका कार्यक्षेत्रबाट १२५ सङ्गठित पार्टी सदस्य बराबर १ प्रतिनिधिका दरले छनोट हुनेछन् । 

तर, थप सङ्ख्या आउनका निम्ति कुल सदस्य सङ्ख्यालाई १२५ ले भाग गर्दा शेष भाग कम्तीमा शून्य प्वाइन्ट पाँच (०.५) रहेको हुनुपर्ने छ । त्यस्ता क्षेत्रमा कम्तिमा २५ जना संगठित सदस्य भएमा मात्रै प्रतिनिधि छनोट गर्ने मापदण्ड तोकिएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ ।

टिप्पणीहरू