नेकपा एसको महाधिवेशनमा मधेशको प्रतिनिधित्व सबैभन्दा धेरै, कुन प्रदेशमा कति प्रतिनिधि ?

नेकपा एसको महाधिवेशनमा मधेशको प्रतिनिधित्व सबैभन्दा धेरै, कुन प्रदेशमा कति प्रतिनिधि ?

नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुंगो लगाएको छ । संगठित सदस्यताको अनुपातमा प्रतिनिधिको छानिने गरी संख्या तोकिएको हो । 

जसअनुसार १२५ संगठित सदस्य बराबर एक जनाका दरले प्रतिनिधि छानिने छन् । संगठित सदस्यताका आधारमा सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश, केन्द्रीय समिति, आयोग, जनसंगठनबाट महाधिवेशन प्रतिनिधिको संख्याको हिसाबसमेत निकालिएको छ ।

एकीकृत समाजवादीले कूल संगठित संख्या १ लाख ४६ हजार ७१७ रहेको जनाएको छ । जसबाट १७ सय ७८ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । 

एकीकृत समाजवादीको सबैभन्दा बढी संगठित सदस्य मधेश प्रदेशमा छ । ३२ हजार ९६९ जना संगठित सदस्य रहेको सो प्रदेशबाट २९६ जना प्रतिनिधिले महाधिवेशनमा प्रवेश पाउने छन् । त्यसपछि २५ हजार ९९८ कूल संगठित सदस्य रहेको बाग्मतीबाट २०५ जना प्रतिनिधि छानिने छन् । 

तेस्रो धेरै संगठित सदस्य रहेको कर्णालीबाट १७१ रकोशी प्रदेशबाट १४३ जना महाधिवेशन प्रतिनिधि रहने छन् । यी प्रदेशमा क्रमश: २१ हजार ३२४ र १७ हजार ८६२ संगठित सदस्य छन् । त्यस्तै, १५ हजार ६१९ कूल संगठित सदस्य रहेको लुम्बिनीबाट १३० र १७ हजार ६७९ सदस्यता रहेको सुदूरपश्चिमबाट १४२ जना प्रतिनिधि छानिने छन् । 

भौगोलिक प्रदेशअन्तर्गत एकीकृत समाजवादीको सबैभन्दा कम संगठित सदस्य गण्डकीमा छ । ८ हजार ८०५ सदस्य रहेको उक्त प्रदेशबाट जम्मा ७० जनाको महाधिवेशनमा प्रतिनिधित्व रहने छ । उपत्यका, सम्पर्क, भारत प्रवाश र अन्य प्रवाशबाट क्रमश:  २३, २२,८ र १५ जनाको प्रतिनिधित्व रहने छ । 

एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगका सदस्यलाई आयोजकका हैसियतले स्वत: प्रतिनिधि हुन पाउने व्यवस्था गरेको छ । हाल सो पार्टीमा ३४६ जना केन्द्रीय सदस्य र आयोगहरुमा १०४ जना सदस्य छन् । 

त्यस्तै, महासंघ ८५, जनसंगठन ५६, विभाग ३२ र मजदुरबाट (२० जिल्लाबाट एक-एक जना) २० जनाले महाधिवेशनमा प्रतिनिधि पठाउन पाउने छन् ।    

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा महाधिवेशन गर्न लागेको एकीकृत समाजवादीले असार ५ मा देशभर एकैसाथ प्रतिनिधि छनोट गर्नेछ । प्रतिनिधि छान्दा महिला, दलित, युवा लगायतको तोकिएको प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ ।

टिप्पणीहरू