सरकारले पैसा तिर्न सकेन भन्नु बेकारको हल्ला : उपप्रधानमन्त्री महासेठ

सरकारले पैसा तिर्न सकेन भन्नु बेकारको हल्ला : उपप्रधानमन्त्री महासेठ

सरकारले कार्य सम्पन्न ठेक्काको भुक्तानी नदिएको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका निर्माण व्यवसायीहरुले रकम पाउने भएका छन् । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार मसान्तसम्म ठेकेदारहरुको बाँकी रकम चुक्ता गर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्रीले ‘युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्स’ को कार्यक्रममा बोल्दै सरकारले पैसा दिँदैन कि भनेर आशंका नपाल्न आग्रहसमेत गर्नुभयो । व्यवसायीहरुले दाबी गरिरहेको र सरकारसँग रहेको तथ्याङ्कबीच मेल नखाएका कारण भुक्तानी गर्न नसकेको जनाउँदै मन्त्री महासेठले निर्माण व्यवसायी महासंघसँग यथार्थ विवरण माग गर्नुभयो ।

‘भुक्तानीको सवालमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र अर्थमन्त्रीको एउटा समझदारी भयो । हामीले देशभर सर्कुलर गरेका थियौँ । रणनीतिक सडक र पुलहरु जति बन्छ, बनाउन दिनुस्, पेमेण्ट हामी रोक्दैनौँ । पेमेण्ट नै नभएको होइन । पेमेण्ट अलिकति बढेको छ । म विश्वास दिलाउँछु, सकभर हाम्रो सोच यो असारभित्रमा तपाईंहरुका पेमेण्ट रोक्दैनौँ । हामी तपाईंहरुको पेमेण्ट गर्छौं असार मसान्तसम्ममा’, उहाँले भन्नुभयो ।

अर्थ मन्त्रालयले रकमान्तर नगरेकाले सरकारले पैसा दिन नसकेको भन्ने कुरा सत्य नभएको पनि उपप्रधानमन्त्री महासेठले बताउनुभयो । अर्थ मन्त्रालय पनि कानूनअनुसार चल्नुपर्ने भएकाले दोष दिन नमिल्ने उहाँको भनाई छ ।

सरकार जतिसुकै प्रतिकूल अवस्था भएपनि व्यवसायीको रकम तिर्नै नसक्ने अवस्थामा नरहेको जनाउँदै उहाँले यथार्थ विवरण प्राप्त नभएको कारण मात्र भुक्तानी रोकिएको पुनः दोहोर्याउनु भयो । 

‘यहाँ मैले धेरै सुनेँ, पेमेण्टको बारेमा । नेपाल सरकार जति प्रतिकूल स्थितिमा भएपनि सरकार सरकार हो । एउटा सरकारको लागि १०–२० अर्ब रुपैयाँ भनेको धेरै ठूलो कुरा होइन’, महासेठले भन्नुभयो, ‘अहिले हामी सबै दोष दिन्छौँ । अर्थ मन्त्रालयले समयमा भुक्तानी दिएन र रकमान्तर गरिदिएन । अर्थ मन्त्रालय पनि कानूनभित्रै त चल्नुपर्छ नि । अर्थ मन्त्रालयले पनि चाहेको जतिखेर त गर्न पाउँदैन नि त ।’

ठेकेदारहरुले ७५ अर्ब नपाएको भन्ने बजार हल्लामा सत्यता नरहेको स्पष्ट पार्दै उहाँले असार १५ गतेसम्म बाँकी भुक्तानीको यकिन र सही तथ्याङ्क मन्त्रालयमा पेश गर्न आग्रह गर्नुभयो ।
 

टिप्पणीहरू