रवि लामिछानेको मुद्दा आज ‘हेर्न नमिल्ने’

रवि लामिछानेको मुद्दा आज ‘हेर्न नमिल्ने’

सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणी पोख्रेलविरुद्धको रिटलाई आज सर्वोच्च अदालतको इजलास नम्बर ६ ले हेर्न नमिल्नेमा पारिएको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त  इजलासले पेसी सूचीको १ नम्बरमा रहेको उक्त मुद्दालाई हेर्न नमिल्ने भनेर पन्छाएको छ ।

यसअघि जेठ २८ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अग्राधिकार दिएर आजलाई पेसी तोकेको थियो । यसबीच रुपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनासम्बन्धमा जिल्ला अदालतमा परेको मुद्दाको मिसिल झिकाउन आदेश भएको थियो । 

त्योभन्दा अघि जेठ २० गते न्यायाधीश श्रेष्ठकै इजलासले मुद्दालाई चाँडो टुंग्याउन अग्राधिकार दिँदै विपक्षीबाट लिखित जवाफ मगाएर अन्तरिम आदेशको छलफलमा डाकेको थियो । उक्त दिनको आदेशमा कास्की प्रहरीमा सहकारी ठगीमा पीडितले दिएको जाहेरी झिकाउनसमेत आदेश भइसकेको छ ।

महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा कहीँ कतै कुनै उजुरबाजुर र अनुसन्धान नभएको भन्दै ‘क्लिनचिट’ को पत्र दिएपछि विवाद सर्वोच्च अदालतमा पुगेको हो । महान्यायाधिवक्ताले पत्र थमाएपछि वैधानिकताको प्रश्न उब्जाउँदै अधिवक्ता अनुपम भट्टराईसहितले महान्यायाधिवक्ता पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर रिट हालेका थिए ।

टिप्पणीहरू