एसले महाधिवेशन प्रतिनिधिलाई भातसम्म खुवाउने
नेकपा एकीकृत समाजवादीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरुले बसोबासको प्रवन्ध आफैँ मिलाउनुपर्ने भएको छ ।
पाँच दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिहरुका लागि खानाको भने व्यवस्था गरिएको छ । बिहान-बेलुकाको खाना र दैनिक चिया र खाजा महाधिवेशनस्थलमै खुवाउने गरी क्याटरिङलाई जिम्मा दिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।
उनका अनुसार महाधिवेशनमा एक हजार ७ सय ७८ प्रतिनिधि सहभागी हुने छन् । र,उनीहरुले बासको लागि सम्बन्धित जिल्ला कमिटीको सहकार्यमा आफैँ व्यवस्थापन गर्नुपर्ने छ ।
त्यस्तै,महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठान परिसर र विशिष्ट व्यक्तिहरुको सुरक्षाका लागि 'राजनीतिक तथा सुरक्षा समन्वय कमिटी' गठन गरिएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीले महाधिवशेन प्रतिनिधि,शुभकामना दिन आउने विभिन्न पार्टीका शीर्ष नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन हेर्नेछ ।
नेकपा एमालेबाट बिद्रोह गरी अढाई वर्षअघि गठन भएको एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन गर्दैछ ।
टिप्पणीहरू