सहकारी प्रकरण छानबिन समितिले पीडितलाई न्याय नदिने चित्रबहादुरको दाबी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको संसदीय समितिले पीडितहरुलाई न्याय दिन नसक्ने बताएका छन् ।

सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन जनाउँदै माइतीघर मण्डला पुगेका उनले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने दाबी गर्दै पीडितहरुले न्याय पाउने कुनै गुञ्जायस नभएको उल्लेख गरे ।

सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको उनको भनाई छ । सांसदहरु रहेको छानबिन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने भएकाले बचत फिर्ताका लािग निर्णायक आन्दोलन गर्न उनले पीडितहरुलाई सुझाए।

सहकारी बचत अपचलनकर्तालाई कारबाही र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति कार्यान्वयन नभएपछि आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ । सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकीरसहित सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ ।

टिप्पणीहरू