इजरायलमा केयरगिभरको तलब दुई लाखभन्दा बढी

इजरायलमा केयरगिभरको तलब दुई लाखभन्दा बढी

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर) का लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले इजरायल सरकारसँग भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकाली स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउन आवेदन माग गरेको जानकारी दिएको छ ।

विभागले आठ सय जना केयरगिभरका लागि दरखास्त आह्वान गर्दै पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार हुने जनाएको छ । त्यसमा महिलाको संख्या ६० प्रतिशत र पुरुष ४० प्रतिशत छुट्याइएको छ ।

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा बालबच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहार गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

आगामी २१ दिनभित्र अनलाइन आवेदन पेश गर्न सकिनेमा आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । कम्तीमा १.५ मिटर उचाई र ४५ किलोग्राम तौल हुनुपर्छ । 

१० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्गसम्बन्धी तीन महिनाको तालिम लिएको हुनपर्ने प्रकाशित सूचनामा उल्लेख छ । 

आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने, विगतमा इजरायलमा गएर काम नगरेको वा परिवार इजरायलमा बसोबास नगरेको र शारिरिक र मानसिक रुपमा स्वस्थ्य रहेको, कुनै प्रकारको जीर्ण रोगबाट ग्रसित नभएको व्यक्तिले आवेदन दिन सक्ने छन् । 

केयरगिभरको मासिक तलब पाँच हजार ८८० सेकेल (इजरायली मुद्रा) हुनेछ । उक्त तलबको नेपाली रुपैयाँ दुई लाख १० हजार हुन आउँछ । केयरगिभरको करार अवधि शुरुमा एक वर्ष र थप गरिएमा पाँच वर्ष हुने विभागले जनाएको छ ।
 

टिप्पणीहरू