सलिम र अनारकलीको स्वप्निल संसार
ये जिन्दगी उसी की है, जो किसी का हो गया
प्यार हि में खो गया, ये जिन्ंदगी उसी की है
जो दिल यहाँ न मिल सके, मिलेंगे उस जहाँन में
खिलेंगे हसरतोंके फूल, जा के आसमान में
ये जिन्दगी चली गई, जो प्यार में तो क्या हुआ
सुनाएगी ये दास्ताँ, शमा मेरे मजार की
फिजा में भी खिली रही, ये कली अनार की
इसे मजार मत कहो, ये महल है प्यार की
ऐ जिन्दगी की शाम आ, तुझे गले लगाऊँ मैं
तुझी में डुब जाऊँ मैं, जहाँ को भूल जाऊँ मैं
बस इक नजर मेरे सनम, अलबिदा, अलबिदा
१९५३ मा प्रदर्शित ‘अनारकली’ को गीत हो यो । अनारकली मुगल दरबारमा गीत गाउँथिन्, एक दासी भए पनि मुगल बादशाहका सुपुत्र युवराज सलिमलाई मन पराउने दुस्साहस गरेकी थिइन् र यसबापत लाहौरको किलामा जिउँदै पर्खालभित्र थुनेर मारिने सजायँँ पाइन् । चलचित्रमा कालिगढहरूले चारैतिर पर्खाल लगाउँदै गर्दा र, अन्तिम स्वास रहुञ्जेलसम्म सलिमप्रति प्रेम दर्शाउँदै उपर्युक्त गीत गाएकी थिइन्, चलचित्रका नायिकाले । विश्वकै बहुचर्चितमध्येको हो, सलिम–अनारकलीको प्रेमकथा । सलिमले अनारकलीलाई पाउन आफ्नै बाबु बादशाह अकबरसँग युद्धसमेत गर्न पुगे । अकबरले अनारकलीलाई नत्यागे गद्दीबाट च्यूत गर्ने धम्कीसमेत दिनुपरेको थियो । अन्त्यमा केही सीप नलागेपछि सुपुत्रलाई त केही गर्न चाहेनन नै बिचरी अनारकलीलाई जिउँदै पर्खालले घेरेर मार्ने सजायँ सुनाउन पुगेक थिए । सलिम अनारकलीको प्रेमकथा चलचित्र ‘अनारकली’ मा भन्दा पनि पछि सन् १९६० मा प्रदर्शित चलचित्र ‘मुगल–ए–आजम’ मा गहिरोसित देखाइएको छ । अनारकलीमा प्रदिपकुमार र बीना राय र मुगल–ए आजममा दिलिपकुमार र मधुबालाले अत्यन्त भाबुक अभिनय गरेकै कारण आजपर्यन्त यी दुई चलचित्र दर्शकमाझ अमर छन् ।
अनारकली को हुन् भन्नेबारे इतिहासकारबीच भिन्नभिन्न मत पाइन्छ । धेरैले उनी इरानबाट भारत आएकी नादिरा बेगम हुन् भनेका छन् । ब्यापारको सिलसिलामा हिँड्दै भारत पुगेका इरानी ब्यापारीको समूहमै मिसिएर आएको तिनको दाबी छ । नादिरा यति राम्री थिइन् कि उनको आगमनमा मुगल साम्राज्यभित्र हलचल नै मच्चियो । राजतन्त्रमा प्रत्येक राम्रा वस्तु र सुन्दरी कन्यामा पहिलो हक राजाकै हुने गथ्र्याे । नतिजास्वरुप तत्कालीन मुगल सम्राट् अकबरले उनलाई मन पराए र दरबारमा भित्र्याए । नादिरा असाध्य राम्रो नाच्थिन्, जब उनले आफ्नो नृत्य प्रस्तुत गरिन् अकबर भुतुक्कै बने । र, अकबरले उनको नाउँ राखिदिए – अनारकली । साथै सबैभन्दा पृय दासीको उपाधि पनि दिइदिए । अनारकलीको अर्थ सौन्दर्यकी कली हो ।
अकबर मुगल साम्राज्यका तेश्रा शासक हुन् । सबैभन्दा धेरै ४९ वर्ष शासन गरेका सम्राट । भारतमा मुगल साम्राज्य खडा गर्ने पहिलो शासक बाबर उर्फ जहिरउद्दिन मुहम्मद हुन् । उनी मध्य एशियाली मुलुक उज्बेकिस्तानका हुन् । जातिले तैमुर र मंगोल सम्राट् चंगेज खाँका सन्तति । समरखंण्ड, तुर्किस्तान, काबुल जित्दै दिल्ली पुगेका उनले १५२६ मा पानीपतको लडाईंमा इब्राहिम लोदीलाई पराजित गरेर दिल्लीको सिंहासनमाथि कब्जा जमाए । अकबर उनैका नाति हुन् । इतिहासमा अकबरका ३ सय पत्नी भएको उल्लेख छ । जसमध्ये ३५ जनाले रानी लेख्ने अधिकारै पाएका थिए । तीमध्ये हिन्दू महिला जोधाबाइ पनि थिइन् । सलिम उनैकातर्फका पुत्र हुन् । सन् १६०८ देखि १६११ सम्म लाहौर बसेका बेलायती पर्यटक विलियम फिंचका अनुसार अनारकली उर्फ नादिरा अकबरका ३ सय पत्नी मध्येकी एक थिइन् । पछि अनारकली अकबरको तर्फबाट एउटा छोराको आमा पनि बनिन् । राजकुमार दानियल मिर्जाकी आमा । दानियल अकबरका तेस्रो सुपुत्र हुन् जसले उनी पछि राज्यको प्रतिनिधि बनेर डेक्कनमा शासनसमेत गरेका थिए ।
सलिम जन्मिनुअगाडि अकबरकी एउटी छोरी फातिमासहित जुम्ल्याहा छोरा हसन र हुसैनको सानैमा मृत्यु भएको थियो । त्यसैले अर्को पुत्रको अकालमा मृत्यु नहोस् भन्नाखातिर शेख मुइनुद्दिन चिस्तिकोमा गएर प्रार्थना गरे र गर्भवती रानी जोधालाई सन्त शेख सलिम चिस्तिको कुटीमा महिनौं दिन राखे । त्यसैले सन् १५६९ मा जन्मेको छोरोको नाउँ सलिम राखे । राजकुमार सलिम सानैदेखि खराब बानी लागेका र अनुशासनहिन थिए । त्यसैले युवराजको तौरतरिका सिकाउन १४ वर्ष राज्यबाट बाहिर राखे । र, पछि मात्र लाहोरको दरबारमा फिर्ता बोलाए । सलिम त्यहाँ पुग्दा दरबारभित्र ठूलो उत्सवको आयोजना गरिएको थियो र अनारकलीको नृत्य थियो । उनको नृत्यमा बाबु छोरा दुबै मोहित भए । दुबैले अनारकलीप्रति प्रेम दर्शाए । सलिम त लठ्ठ नै परे । यसपछि भेटघाट बाक्लिन थाल्यो । एकार्कालाई प्रेम गर्दै गए । कसैकसैले त्यसबेला अनारकलीको उमेर ४० पुगिसकेको बताउने गरेका छन् तर उमेर उनीहरूको बीचमा बाधक बनेन । हुँदाहुँदा सलिम लुकेर अकबरको ‘हरम’ मा समेत जान थाले । यो कुरो सम्राट्सम्म पुग्यो । सलिम र अनारकलीको अवैध सम्बन्धलाई उनले पचाउन सकेनन्, किनभने अनारकली उनैका पत्नी थिइन्, पुत्र दानियलकी आमा । नाताले अनारकली सलिमकी सौतेनी आमा थिइन् । अर्काे कुरा, अनारकलीले आफ्नो लागि छोरो जन्माइदिए पनि उनलाई एक ‘दासी’ मात्रै मानियो । सलिमले १६ वर्षकै उमेरमा आमेरका राजा भगवानदासकी पुत्री मानबाइसंग गरे । सत्तामा बस्दा जहाँगिरको नाउँले राजकाज चलाएका उनले २६ वर्षको उमेरसम्ममा १६ पटक बिहे गरिसकेका थिए । यसबाहेक उनको ‘हरम’ मा ३ सय युवती थिए ।
अनारकलीको सौन्दर्यप्रति हरमका अन्य सबै दासी डाहा गर्थे । अकबर प्रायः अनारकलीसितै धेरै समय ब्यतित गर्न थालेदेखि नै उनीहरू उनलाई जसरी पनि बदनाम गर्न चाहन्थे । भनिन्छ, सलिमको रंगीन स्वभावलाई मध्यनजर राखेरै अनारकलीको नजिक जान उनीहरूले उत्तिकै उक्साउने गर्थे, गोप्यरूपमा हरममा अनारकलीसित भेट्ने चाँजोपाँजो मिलाइदिन्थे, नत्र सम्राटको हरममा अरु पुरुषको प्रवेश वर्जितजस्तै थियो । जब सलिम–अनारकलीको प्रेमालाप चरमोत्कर्षमा पुग्यो उनीहरूले नै यो खबर अकबरसम्म पुर्याए । सलिम अकबरका विश्वासपात्र सरदार गयास बेगकी छोरी मेहरूनिस्सासित पनि प्रेम गर्थे । अकबरले यो सम्बन्ध पनि मन पराएनन् र जानाजान एक इरानी ब्यापारी शेर अफगानीसँग ‘निकाह’ गराई मेहरूनिस्सालाई अफगानिस्तान पठाइदिए । तर यसको बावजुद सलिमले मेहरूनिस्सालाई बिर्सन सकेनन् र शेर अफगानीको हत्या गराइदिए । र, सन् १६०५ मा जहाँगिरको नाउँबाट मुगल सम्राट बनेपछि मेहरूनिस्सासित बिहे गरे र ‘मल्लिका ए हिन्दुस्तान’ को खिताब समेत दिइदिए । रानी बनेपछि नुरजहाँ मा फेरिएकी मेहरूनिस्साले जहाँगिरको सत्ता टिकाउन ठूलो भूमिका खेलिन् ।
सन् १५९६ मै अनारकलीको मृत्यु भइसकेको थियो । यसअघि बाउ र छोरोबीच राजनीतिक सम्झौता भयो, जसको कारण अकबरले छोरोलाई बचाए र अनारकलीलाई मात्र जिउँदै मार्ने सजायँ सुनाए । दानियलले पनि धेरै पछि अनारकली आफ्नै आमा रहेको रहस्य थाहा पाए । सलिम र अनारकलीबिचको प्रेमप्रसंगले आकाश छोइरहेकोमा उनी पनि अनभिज्ञ थिएनन् । त्यसैले अनारकली नै आफ्नी आमा हुन् भन्ने थाहा पाइसकेपछि सलिम र अनारकली दुबैप्रति घृणा जाग्यो र सलिमको हत्या गर्ने असफल प्रयाससम्म गरे । कतिपयले अनारकलीको वास्तविक नाउँ ‘सरिफुनिस्सा’ हो् पनि भन्ने गरेका छन्् । उनीहरूका अनुसार उनी अफगानी थिइन् । अकबरको काबुल यात्राको दौरान त्यहाँको दरबारमा नृत्य प्रस्तुत गरेकी थिइन् । उनको नृत्य र सुन्दरतामा मोहित भएरै फर्कने क्रममा आफूसंगै लाहौर पु¥याए र अनारकली नाउँ राखिदिएका थिए ।
अनारकलीलाई मृत्युदण्ड दिएको केही समयसम्म सलिम प्रेमिकाको बिछोडमा पागल जस्तै बने । पछि जब, गद्दी पाए लाहौरमा अनारकलीको नाउँमा ‘मकबरा’ बनाइदिए । इतिहासकार अब्दुल्लाह चुगताइका अनुसार ‘अनारकलीलाई गाडिएको चिहानसंगै अर्की पत्नी साहिब जमालको शव पनि गाड्न लगाए । सलिम उर्फ जहाँगिर अनारकलीपछि धेरै माया रानी जमाललाई गर्थे । कसैकसैले अनारकलीकी आमा नुर खाँको नृत्य हेरेर खुशी भएका अकबरले इनाम लिन भनेको बेला नुरले समय आएपछि माग्ने बताएकी थिइन् । जब छोरीलाई मृत्युदण्ड दिइने खबर सुनिन् तब अकबरसित इनामस्वरूप छोरीको ज्यान बकस दिन बिन्ति बिसाइन्, आफूले पहिला दिएको बचन पालना गर्दै अकबर स्वयंले जिउँदै मार्न गारो लगाइरहेको बेला अनारकलीलाई पछाडिको बाटोबाट भाग्न दिएको पनि भन्ने गरेका छन् । यसो भन्नेहरूले अनारकलीलाई भगाएको भए उनी कता गइन् र पछि उनको के भयो त्यो भने बताउन सकेका छैनन् । सलिम उर्फ जहाँगिरले पनि भारतमा झण्डै २२ वर्ष शासन गरे । जहाँगिरको अर्थ संसारलाई जित्न सक्ने हो ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू