अशोकको उमेर विवादबारे संसदमा प्रश्न

अशोकको उमेर विवादबारे संसदमा प्रश्न

भावी सेनापतिका रुपमा हेरिएका रथी अशोक सिग्देलको उमेरसम्बन्धी विवाद संसदमा पुगेको छ । बढुवाका क्रममा उमेर विवाद छरप्रष्ट भएकोप्रति आज संसदमा कुरा उठेको हो । 

आज प्रतिनिधि सभा बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सेनाको आगामी नेतृत्वको रुपमा लिइएका रथीको उमेर विवादबारे अनेक विषय सार्वजनिक भैरहँदा रक्षामन्त्री र सैनिक नेतृत्व चुपचाप रहेको भन्दै असन्तुष्टि जनाए । यसबारे प्रधानसेनापति प्रभुराम शर्मासँग उनले जवाफसमेत मागेका छन् । 

'प्रधानसेनापतिले अशोकराज सिग्देलको बारेमा संसदीय समितिको सुनुवाईमा जो कुरा बोलिराख्नु भएको थियो, आज पत्रपत्रिकाले प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ?', उनको प्रश्न छ । 

मुलुकले गौरवका रुपमा लिने सैनिक संगठनको छविमाथि गम्भीर प्रश्न उठेको भन्दै सांसद साहले मन्त्री र सैनिक नेतृत्व चुपचाप बस्न नमिल्नेमा जोड दिए ।  

‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निस्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ । दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पुर्याउने जुन ढंगले हर्कत गरेका छन्, त्यो सकारात्मक होइन', उनले भने, 'यसरी विवादित कुराहरु बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ ।'

यस्ता विषय बाहिर आउँदा सेनाको मनोवल गिर्ने र सिंगो मुलुकको प्रतिष्ठामा प्रश्न उठ्ने भएकाले उमेर विवादबारे स्पस्ट पारिनुपर्ने उनको मत छ ।
 

टिप्पणीहरू