जनताको बहुदलीय जनवाद ध्यान, जप र कठोर तपस्याको उपज होइन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) स्वार्थपूर्ति गर्ने माध्यम नभई मुलुकको समस्या समाधानको बाटो पहिल्याउने विचार भएको बताउनुभएको छ । 

जबजका प्रतिपादक मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आज पार्टी मुख्यालय च्यासलमा आयोजित ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ हस्तान्तरण कार्यक्रममा उहाँले उक्त धारणा राख्नुभएको हो । अध्यक्ष ओलीले जबजलाई आफ्नो स्वार्थअनुकूल व्याख्या गरिएको भन्दै असन्तुष्टिसमेत जनाउनुभयो । 

‘मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन । अझै राम्रो मौका मिल्ने हो भने मार्गदर्शक सिद्धान्तै हो ल जा । स्वार्थ पूरा नगर्ने भए केही पनि होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन’, जबजप्रति फरक दृष्टिकोण राख्ने तत्कालीन एमालेकै कतिपय नेताप्रति संकेत गर्दै उहाँले भन्नुभयो । 

जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको प्रष्ट पार्दै उहाँले आफूहरुको निष्ठा मौकापरस्त नभएको बताउनुभयो । जबजलाई अहिले पनि प्रभावकारी रुपमा अघि बढाइरहेको उहाँको दाबी छ ।

‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ’, अध्यक्ष ओलीले अगाडि भन्नुभयो, ‘हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । हाम्रो निष्ठा मौकापरस्त होइन ।’

मदन भण्डारीसँगको सम्बन्धका कारण आफूहरुले जबजलाई अङ्गीकार नगरेको प्रस्ट्याउँदै ओलीले देशको अग्रगमनका लागि उक्त बिचार बोकेको बताउनुभयो । 

‘मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो, उहाँको अगुवाईमा भएको हुनाले जबज त कसरी छोड्ने ? भन्नेकुरा होइन’, उहाँ भन्नुहुन्छ, ‘यो देशको अग्रगमनका लागि जननेता मदन भण्डारीले उहाँको अगुवाईमा यसमा धेरै अतिसयुक्ति हुनु हुँदैन । उहाँको अगुवाईमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रत्युत्पादन गर्यो । जबज कुनै ध्यानबाट, तपबाट कुनै आसन, व्यायाम, ध्यान कठोर तपस्या यस्ता कुराबाट होइन । ध्यान देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति हो ।’

टिप्पणीहरू