एमालेमा गरिएको विद्रोह सत्य प्रमाणित : माधव नेपाल

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गर्ने आफूहरुको निर्णय सही साबित भएको बताउनुभएको छ । 

‘जनताका नेता नेपाल’ पुस्तक विमोचन गर्दै उहाँले संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि एमालेबाट विद्रोह गर्नु सही थियो भन्नेकुरा पुष्टि भैसकेको दाबी गर्नुभएको हो । आफूहरुको विद्रोहले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका खेलेको उहाँको भनाई छ । 

‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्यौँ । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्यौँ । अत्यन्तै सही काम गर्यौँ’, अध्यक्ष नेपालले गर्वका साथ भन्नुभयो ।

एमालेबाट बाहिरिएर एकीकृत समाजवादी गठन गर्नुलाई उहाँले क्रान्तिकारी कदम पनि भन्नुभयो । आफूहरुको विद्रोहले कम्युनिष्ट आन्दोलनलाई जोगाएको उहाँको दाबी छ । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ । र, आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि फेरिपनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्यौँ । नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्यौँ । नभए हामी हराइसकेका हुन्थ्यौँ । 

एमालेबाट विद्रोह नगरेको भए अहिले आफूहरु गल्लीमा भौंतारिरहेको अवस्थामा हुने पनि उहाँले बताउनुभयो । अहिले देशैभर पार्टीको उपस्थिति रहेको र आफूहरुको भूमिकालाई स्थापित गर्न सकेको भन्दै उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो ।

संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने जनाउँदै नेपालले आगमी दिनमा पार्टीको सिट संख्या बढ्ने दाबी गर्नुभएको छ ।

टिप्पणीहरू