बिचौलियाहरुको कारण बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्ध

बिचौलियाहरुको कारण बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्ध

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्ध भएको छ । अध्यक्ष नियुक्ति प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज उक्त प्रक्रिया रद्ध गरिएको जानकारी दिएको छ । 

जारी सूचनामा उल्लेख छ, ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिले मिति २०८१/०३/१४ गतेको निर्णयानुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नका लागि मिति २०८०/११/१६ गते सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौटसम्बन्धी प्रक्रियाहरु रद्ध गरिएको जानकारी गराइन्छ ।’

यसअघि बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँच उम्मेदवारलाई कार्ययोजना प्रस्तुति तथा अन्तवार्ताका लागि बोलाइएकोमा तीन जना सहभागी भएनन् । त्यसपछि अध्यक्ष नियुक्ति प्रक्रिया पेचिलो बनेको थियो । 

यस विषयमा सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयबाट राय समेत मागेको थियो । कार्यालयले अन्तवार्ता दिएका दुई जना र बढी अंक ल्याउने एक जना थप गरी तीन जनाको नाम सिफारिस गर्न सुझाव दिएको थियो । यद्यपि, समितिले आज बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्धको सूचना प्रकाशित गरेको छ ।

सेबोनको कार्यकारी अध्यक्ष बनाएर हिमालयन स्टक एक्सचेञ्जको स्वीकृति लिने योजनामा पहिलो नम्बरमा सन्तोषनारायण श्रेष्ठ र दोस्रो नम्बरमा मुक्ति श्रेष्ठलाई दिपक भट्टको समूहले अघि सारेपछि माओवादी निकट भनिएका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र नवराज अधिकारी ‘योजनाबद्ध’ रुपमा अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

बालकोटकै सहयोगमा उक्त समूहले हिमालयन रिइन्स्योरेन्स हात पारेको थियो । हिमालयन स्टक एक्सचेञ्जका लागि हुँदै आएको रस्साकस्सीको अन्तिम छिनोफानो गर्ने क्रममा उक्त लफडा उत्पन्न भएको हो । नयाँ स्टक एक्सचेञ्ज लिने आफूहरुको योजनामा एमाले अध्यक्ष सहमत भएपछि इन्फिनिटी होल्डिङका अध्यक्ष भट्टको समूहले बालुवाटार, अर्थ मन्त्रालय र योजना आयोगमा दबाब बढाएका थिए । 

हिमालयन स्टक एक्सचेञ्जको प्रमुख लगानीकर्ता तथा खेलाडीहरुमा भट्ट, शेखर गोल्छा, शंकर अग्रवाल,पशुपति मुरारका,राजेन्द्र खेतान,आशिष श्रेष्ठ छन् । श्रेष्ठ मित्सुबिसी मोटर्सका नेपाल बिक्रेता हुन् । त्यसैगरी सौरभ ज्योति, जुनी गुरुङ,विवेक दुगड,अमित मोरलगायत पनि भट्टको सहयोगी बनेका छन् । अदालत पुगेको उक्त विषयलाई आफ्नो पक्षमा पार्न भट्टहरु सेबोन अध्यक्षमा आफ्नै पकेटका मान्छेबाट काम फत्ते गर्न अघि सरेका थिए ।

टिप्पणीहरू