भएभरका नेता प्रज्ञाभवनमा,ओली मात्र च्यासलमा

भएभरका नेता प्रज्ञाभवनमा,ओली मात्र  च्यासलमा
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा शुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच केही बेरअघि सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले रिमोट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभयो । 

समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता प्रज्ञा भवनमा पुगेका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा र रास्वपा सभापति रवि लामिछाने अतिथिका रुपमा समारोहमा सरिक छन् । 

त्यस्तै,जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव,जसपा,नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई,राजमोका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि सहभागी छन् ।  

महाधिवेशनमा देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेबाट भने कसैको पनि प्रतिनिधित्व छैन । एकीकृत समाजवादीले केपी ओलीलाई निम्तो दिए पनि उहाँ कार्यक्रममा जानुभएन भने उद्घाटन सत्र जारी रहँदा अहिलेसम्म एमालेका अन्य नेता पनि पुगेका छैनन् ।   बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अध्यक्ष ओली पार्टी कार्यालय च्यासल जानुभएको छ ।

आफैबाट टुक्रिएर २०७८ साल भदौमा गठित एकीकृत समाजवादीलाई राजनीतिक दलको मान्यता दिन एमालेले अझै पनि हिच्किचाइरहेको देखिन्छ ।


 

टिप्पणीहरू