एक समयको गाली एक दिन गलपासो बन्छ बन्छ
शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका डा.गंगालाल तुलाधर अहिले नेकपा (एकीकृत समाजवादी) को उपमहासचिव तथा बागमती प्रदेश इञ्चार्ज छन् । १० औँ महाधिवेशनको अन्तिम तयारीमा जुटेको उक्त पार्टीको आगामी महासचिव वा उपाध्यक्षका रूपमा गंगालालले आकांक्षा राखेका थिए । तर, माधव नेपाललाई सर्वसम्मत पार्टी अध्यक्ष बनाउने मूल्यमा तलमाथि पर्नसक्ने अवस्था देखिन्छ । धादिङमा धेरै वर्ष शिक्षण पेशामा संलग्न भई पञ्चायतकालदेखि नै पूर्णकालीन राजनीतिमा सक्रिय उनी पार्टीभित्रका प्राज्ञिक तथा बौद्धिक नेतामध्ये गनिन्छन् ।
– हरि गजुरेल
० तपाईंहरुको पार्टी बनेको तेश्रो वर्ष लाग्दै छ । ३२ महिनाअघि जन्मिएको पार्टीको महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ३६ महिना पार्टी सदस्य भएको हुनुपर्ने प्रावधान राख्नु अचम्मलाग्दो भएन र ?
– २००६ सालमा पुष्पलालले स्थापना गर्नुभएको पार्टीको निरन्तरतालाई हामीले बोकिरहेका छौं, नेकपा एमालेमा हुँदा नवौं महाधिवेशन गर्यौं । त्यसपछि विद्रोहको परिस्थिति सिर्जना भयो । विद्रोह गर्ने ५० हजार सदस्यमध्ये झण्डै ४० हजार नेकपा एमालेकालीन सदस्य नै हुनुहुन्छ ।
०७८ साल भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भइसकेपछि विधिवत्, कानुनी रूपमा नेकपा एकीकृत समाजवादीले वैधता प्राप्त गरेको हो । नयाँ पार्टी स्थापना गरेका होइनौं । छिन्नभिन्न अवस्थामा जान खोजेको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनसम्म गरेका हौं । महाधिवेशनका लागि एउटा निश्चित मापदण्ड तोक्नैपर्ने हुन्छ । दस्तावेजमाथिको छलफल, नेतृत्व निर्माणको जिम्मेवारीका लागि निश्चित अनुभव, आधार चाहिन्छ भनेर ३६ महिने प्रावधान राखिएको हो ।
० पार्टी सानो भन्छन् तर अध्यक्षमा माधव नेपालसहित तीन जनाको दाबी देखिन्छ । सानो पार्टीमा सबै कुरा मिलेर जानुपर्ने होइन र ?
– १ लाख ५० हजार संगठित सदस्य भएको सानो पार्टी, अहिले निर्माणकै चरणमा गुज्रिरहेका छौं । आकांक्षी धेरै हुन सक्छन् तर सहमतिमा जानु सबैको परम् कर्तव्य हो भन्ने लाग्छ । यो महाधिवेशन कतै चुनावको बाटोबाट जाने हार्ने रुने र जित्ने रमाउने परिस्थिति आउँछ कि भन्ने आमकार्यकर्तामा भय, त्रासको वातावरण छ । सहमतिको वातावरण बनाउन मैले कस्तो त्याग गर्नुपर्ने हो, गर्न तयार छु । १८७८ जना प्रतिनिधिहरूसँग पनि मेरो आग्रह यही नै छ ।
० तपाईंहरू माधव नेपालले बनाएको पार्टी भन्नुहुन्छ, झलनाथ खनाल, घनश्याम भुसालहरूको भनाइचाहिँ माधव नेपाल अल्पमतमा परिसकेको दावी सुनिन्छ । यथार्थ के हो ?
– माधव नेपालले विद्रोहको झण्डा उठाइरहँदा घनश्यामलगायत १० भाइले साथ छाड्नुभएको थियो । त्यसबेलाका १० भाइले साथ दिनुभएको भए नेकपा एमालेभन्दा ठूलो हुनसक्थ्यो यो पार्टी । संसदमा १० सिटमा खुम्चन, राष्ट्रिय दल हुन नसकेको लघुताभाष पनि हुँदैनथ्यो । थ्रेस होल्ड कटाउन नसक्नेको खिसिट्युउरी अवस्थाबाट पनि हामी मुक्त हुन्थ्यौं । विद्रोहकै बेला समाजवादी कार्यदिशाका लागि भनेर घोषणपत्रमार्फत स्पष्ट पारिसकेका थियौं ।
निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा प्रस्तुत विधान, प्रतिवद्धता, नीति, उद्देश्यमा वैज्ञानिक समाजवाद स्थापना हाम्रो लक्ष्य हो भनिएकै छ । पार्टी दर्ता गरिरहँदा, हामी निर्वाचन आयोगमा गइरहँदा झलनाथजी बिरामी भएर दिल्लीमा हुनुहुन्थ्यो । उपचारका लागि जाँदा वक्तव्य जारी गर्नुभएको थियो । त्यसले भ्रम सिर्जना गरेको थियो । हामीले नै उहाँलाई सम्मानित नेताको गरिमामय ठाउँमा राखेका हौं । माधव नेपाल नभएको भए पुनर्गठनको झण्डा फहराउने काम कसैले गर्न सक्दैनथ्यो ।
० घनश्याम भुसालको महासचिवमा १५ महिने कार्यावधिको कसरी समीक्षा गर्नुहुन्छ ?
– उहाँलाई केपी ओली कमरेडले सिस्नु पानी लगाएर खेदिसकेपछि जाने ठाउँ कि त माओवादी वा हाम्रा पार्टी हुनसक्थ्यो । हाम्रो पार्टीभन्दा माओवादी रुचाउनु भएको थियो कि भन्ने आंशका केबाट पनि गर्न सकिन्छ भने एकीकृत समाजवादीको व्यानरबाट चुनाव लड्नुहोस् भन्दा अस्वीकार गर्नुभयो । घनश्यामलाई हामीले जतिसुकै अनुरोध गरे पनि आउनुहुन्न, माओवादीतिरै जानुहुन्छ भन्ने लागिरहेको थियो । धेरै चरणको वार्तापछि विना शर्त पार्टीमा आउन राजी हुनुभयो । उहाँ र म एकै साले, सँगसँगै राजनीतिक यात्रामा छौं ।
यो सानो पार्टीमा खोजेकै भए हामी नै महासचिव भइहाल्थ्यौं नि ! घनश्याम भुसालले नेतृत्व गर्दा टिमवर्क मिल्थ्यो, लयबद्ध रूपमा हिँड्न सक्थ्यौं भन्ने लागेर महासचिवमा प्रस्ताव गरेको हो । हामी सकारात्मक भयौं र उहाँको नेतृत्वमा हिँड्न तयार भयौं । १५ महिनाको सार भन्नुहुन्छ भने सुर, ताल, लय केही मिलेन । बढी मन परेका मान्छेसँग बसउठ, गुप्त भेटघाट हुने तर टिमलाई लिएर अगाडि बढ्न रुचि नराख्ने । संगठनात्मक नेतृत्व दिँदैछु भन्ने आभाष हुने गरी काम गर्नुभएन । धेरै ठाउँमा फ्रि स्टाइल भाषण गर्ने कुरालाई नै महासचिव पदको लय, ताल सुर बनाउनुभयो ।
० माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने भए अब झलनाथ र घनश्यामको व्यवस्थापन कसरी हुन्छ त ?
– यदि, सहमतिमा जाने हो भने तीन जनाको नेतृत्वलाई निरन्तरता दिऊँ भनेर पटक पटक प्रस्ताव गरेको छु । त्यसो हुँदा विद्रोह र नेतृत्वको अनुमोदन हुन्छ । पाँच वर्षपछि माधव नेपाल, झलनाथ कमरेडहरूले अहिलेको जस्तो सक्रियता देखाउन नसक्ने स्थिति पनि हुनसक्छ, उमेरका कारण । त्यसपछि हामीमध्येबाट सबैभन्दा उत्कृष्ट पात्रले पाँच वर्षपछि नेतृत्व गरौं ।
पुस्तान्तरणको कुरा बेमौसमी बाजा हो । गैरमाक्र्सवादी कुरा गरेर राम्रो हुँदैन । उमेर समूह पनि मिल्दैन । ६० वर्षमाथि पुगिसकेकाले ७२ वर्षका नेताबाट पुस्तान्तरणका कुरा औचित्यपूर्ण, वैज्ञानिक पनि हुँदैन । यस्ता कुरा नगरौं । चुनावमा पुर्याएको खण्डमा बुटवलको आठौं महाधिवेशन, काठमाडौंको नवौं राष्ट्रिय महाधिवेशनमा जुन अवस्था र परिस्थिति भोग्यौं । हालत त्यस्तै हुनसक्छ ।
० माधव नेपाल नै पार्टीको अध्यक्षमा किन दोहोरिने त ?
– नेकपा मालेको गठन कालदेखि नै संस्थापक कमरेडमध्येको एक हुनुहुन्छ । पार्टीलाई पटक पटक नेतृत्व गरेको, संविधान निर्माण, माओवादीलाई सशस्त्र द्वन्द्वको भुमरीबाट मूलधारमा ल्याउनका लागि गरेका प्रयास, नेकपा एमाले, नेकपाकालीन अवस्था, केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा त्यो असंवैधानिक कदमविरुद्ध सडकमा उत्रने, नेपाली कांग्रेसलाई सडकमा ल्याउन अगुवाइ गर्ने नेता भएकै कारण उहाँजत्तिको उच्च कदको नेता, अन्त छैन त्यसैले ।
० महाधिवेशनबाट के बन्ने सुर हो तपाइँको ?
– यदि, चुनावै हुने भयो भने माधव नेपाल अध्यक्ष, म महासचिवको भूमिका निर्वाह गर्ने गरी तयारीमा लाग्छु ।
० हिजो एमालेकालदेखि नै पार्टीले अन्तरविरोधी शक्तिका रूपमा कांग्रेसलाई चित्रित गर्दै आएको थियो । त्यही शक्ति अहिले मित्र शक्ति बनेको छ । यो पार्टीको शत्रु शक्ति नै छैनन् त ?
– बहुदलीय प्रजातन्त्र, लोकतन्त्र, संघीय संरचनाभित्र कुनै पार्टीले अर्काेलाई प्रधान शत्रु देख्नु जत्तिको गैरराजनीतिक, अराजनीतिक कुरा अरु केही पनि हुँदैन । अहिले हामीलाई सबैभन्दा बढी रिस एमालेले गरिरहेको छ तै पनि ऊ हाम्रो प्रमुख दुश्मन वा शत्रु हुन सक्दैन । कतिपय ठाउँमा एमालेले हाम्रो नाम सुन्न चाहँदैन तर केपी ओलीमा पनि अहिले थुप्रै परिवर्तन आइरहेका छन् । एक समयको चुरचुर गाली खास समयमा पुग्दा गलपासो हुँदो रहेछ भन्ने देखिएकै छ । नेकपा एकीकृत समाजवादी, पार्टी अध्यक्ष माधव नेपालको नाम लिँदा मुखमा पानी हालेर कुल्ला गर्नुपर्छ भन्ने नेता पछि उहाँकै घरमा गएर सम्बन्ध सुधार गरौं, अगाडि बढौं भन्न पुग्नुभयो ।
नेपाली कांग्रेस सधैँका लागि सहयात्री, मन वचन मिल्ने पार्टी होइन । उसका वर्गीय चिन्तन, संरचना, वर्ग पक्षधरताको कुरा नै फरक छ । खास समयमा सहकार्य हुनु र खास बेलामा प्रतिद्वन्द्विता हुनु अनिवार्य छ । ०४८ तिर मुख्य प्रतिद्वन्द्वी थियो कांग्रेस । ०६२ सालमा पुग्दा सहकार्यमा परिणत भयो । केपी ओलीले दुई–दुई पटक संसद बिघटन गर्दा सहकार्यकै बाटोबाट अगाडि बढ्यो । भोलि जब संविधानको खिलाफमा षड्यन्त्र हुन्छ, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोलिन्छ भने त्यस समयमा ऊसँग सहकार्यकै खाँचो हुन्छ । स्वतन्त्र रूपमा चुनाव लड्ने समयमा त प्रतिद्वन्द्विता पनि रहला ।
० सरकारमा पठाइएका मन्त्रीहरूको काम निराशाजनक छ भन्ने सुनिन्छ । त्यस्तै हो र !
– अहिले सरकारमा सामेल कुनै पनि दल उत्साहित भइरहेको देखिन्न । एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे गर्नुभएको तिखो टिप्पणी, अहिले संसदमा चलिरहेको बहस, मन्त्रीहरू आफैं बीच असन्तुलनको कुरा, काम गर्दा भएका हस्तक्षेपलाई अभिव्यक्त गरिरहनुभएको छ । धेरै पार्टी मिलेर सरकार चलाउनुपर्ने र सामूहिक सोचलाई प्राथमिकता दिनुपर्ने हुँदो रहेछ । हाम्रा मन्त्रीले सोचेजति काम गर्न नसकेका हुन् कि भन्ने पार्टीपंक्तिमा लागिरहेको छ । तर, उहाँहरूको कार्यसम्पादन निराशै मान्नुपर्ने स्थितिमा छैन ।
टिप्पणीहरू