त्यो एक लातले जीवनमा जुन हलचल ल्यायो

त्यो एक लातले जीवनमा जुन हलचल ल्यायो
सुन्नुहोस्

उनले पढेनन् विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम । भन्छन् नि, मान्छे पढेरभन्दा परेर जान्दछ । हण्डर, ठक्कर र चोटकै उपज आज फराकिलो पहिचान बनाउन सफल भएका छन्, छिरिङ जाङ्बु शेर्पा । निरन्तर नदीझैँ गतिशील भएर बगिरहन गाह्रो तर हरेश नखाई यात्रामा अविचलित बढिरहन सके एउटा विम्ब कोरिँदो रहेछ । उसो त छिरिङलाई, जीवन र हिमाल दुवै संघर्षका प्रतीक लाग्छन् ।

सोलुखुम्बूको रक्सीखर्कमा जन्मिएका उनले किताब, कापी कम देखे । देखे त पर्यटक र गाइडका लस्कर मात्रै । औपचारिक अध्ययन ५ कक्षासम्म मात्र तर पढाउँछन् स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई– जसरी स्कुल कलेजमा अध्ययन नगरेका प्राडा दिनेशराज पन्त, महेशराज पन्तहरूले हजारौं विद्यार्थीलाई पढाए, शिक्षित बनाए । ४६ वर्षअघि जन्मिए । औपचारिक अध्ययन लामु डाँडा स्कूलमा भयो । ११ वर्षमा टेक्दै गर्दा लाग्यो अध्ययनमा ब्रेक । अध्ययनलाई पूर्णविराम लगाएर विदेशीका भरिया बन्न थाले । कहिले खोटाङको ऐंसेलुखर्कबाट चामल, नुन किनेर लुक्ला बेच्न जान्थे दिदीसँगै । 

मान्छेको जीवन एउटै घटना वा परिघटनाबाट युटर्न भइदिन्छ । उस्तै भयो उनको जीवन पनि । साधकहरू भन्छन् नि ‘तिमी त्यस्तै बन्छौ, जस्तो तिम्रो विचार हुन्छ ।’ त्यही विचारले हो, छिरिङको जीवन कायापलट भएको । जतिखेर उनी एक मुठी सास अड्याउनका लागि भरियाको काम गर्दै थिए, लुक्लाबाट उकालो लाग्दै गर्दा बीच बाटोको कुरा हो । दुई जना फ्रेञ्च विदेशीको किचन भरिया थिए । विदेशीसँगै अफिसको डाइरेक्टर पनि थिए । कुकले एक लात र दुई झापड बजारे । यसरी लात्ती र झापड खानुपर्ने कारण थियो । सामान्यसम्म पनि जानकारी नहुनु, भाँडाकुँडाको नाम थाहा नहुनु । गाइडबाट खाएका एक लात्ती र दुई झापडले बदलियो जीवनको नक्सा । किचन ब्वाईबाटै शुरु भएको हो हिमाल यात्रा । त्यतिबेलाका ती भरिया छिरिङ अहिले प्रशिक्षक छन् । उनलाई लात्ती बजार्ने कुक भने जागिर खाइरहेका छन् । हिजोको त्यो किचन ब्वाई, आज वार्षिक हजारौं विद्यार्थीलाई प्रशिक्षण दिँदैछ हिमाल आरोहणसम्बन्धी ।

प्रकृतिसँग कसैकाे केही नलाग्ने । 'भाग भाग' भन्दै कुदे । सुतिरहेकाे साथीहरूलाई समाउँदै अघि बढ्ने क्रममा बजारिए ।

०५७ सालमा राजधानी भित्रिए । तनाव र अभावका लामखुट्टेहरूले डसिरहन्थे शहरमा । संयोगले जागिर भेट्टाए ट्रेकिङ कम्पनीमा । यती समूहको लगानी रहेको नेपालकै ठूलो ट्रेकिङ कम्पनी थामसेर्कुमा क्लाइम्बिङ वालसम्बन्धी काम हेर्ने जिम्मेवारी भेट्टाए । यो नेपालकै पहिलो वाल क्लाइम्बिङ सेन्टर हो । चार/पाँच वर्ष त्यहीं काम गर्दै तालिम लिए । दुई वर्षसम्म प्रशिक्षकको भूमिकामा रहे । प्रशिक्षक र शिकारु दुवै भूमिका निर्वाह गरेका उनलाई तालिम दिँदा पढाउनुपर्ने विषयवस्तुमा दोधार उत्पन्न भयो । एकेडेमी वा कुनै कम्पनीको भवनमा गएर सिक्नु भनेको डमी सिकाइ हो । यसले विद्यार्थीमा एउटा चेतना त विस्तार गराउँछ तर यो कक्षागत मात्र हो । प्रशिक्षकले विद्यार्थीलाई पढाएर र फिल्डमै लगेर देखाइदिनुपर्छ । फिल्डमा सिकेपछि आफैँले सबै समस्या हल गर्न सक्ने हुनुपर्छ । यही प्राक्टिकल सिकाइले विद्यार्थी खारिने हो । र, पूर्णतः माउन्टेनियरिङ तालिम र अध्ययनमा लागे । ०७३ सालमा डिप्लोमा गरे । त्यसपछि अध्यापन गराउन थाले । चार वर्षदेखि पूर्णकालीन अध्यापक छन् ।

१९ वर्षको उमेरदेखि नै ८ हजार मीटर उचाइमा रहेका चुचुरा टेक्न थालेका हुन् । यद्यपि, हिमालसँगको सम्बन्ध सन् १९९६ बाट शुरु भएको हो । यसअघि ८ हजारमुनिका हिमटाकुरा कति चढे, हिसाब–किताब राखेका छैनन् । सगरमाथा चार पटक, ल्होत्से चार पटक । मकालु एक पटक । चोयु दुई पटक । सिसाबङ्ला दुई पटक ।’ ०६३ सालमा पहिलोचोटि चीनबाट सगरमाथा उक्लेका उनले आठ हजार पाँच सय १५ मीटर उचाइको पहिलो हिमाल ल्होत्से चढे । हो, त्यही अनुभवले उनलाई सगरमाथा चढ्ने आत्मबल बढायो । उचाइमा पुग्नु मात्र ठूलो कुरा होइन, माथि टिकिरहनुचाहिँ धेरै मुस्किल कुरा हो । विश्वकै सर्वाेच्च शिखरमा पुग्न जति कठिन छ त्योभन्दा असाध्य कष्टकर हुन्छ झर्न । टुप्पामा पुगेर तल झर्दा कति पीडा हुन्छ ? थाहा हुन्छ कि त एकबारको जुनीमा सफलताको चरमचुलीबाट भुइँमा झरेकालाई वा सगरमाथाको चुचुराबाट तल झरेकालाई । हालसम्म सगरमाथा वा अन्य हिमालमा घटेका जति पनि दुःखद खबर छन् ती सबै ओर्लिने क्रममै भएका छन् । हिमाल चढ्ने सिलसिलामा हिउँ पहिरो खसेपछि आइपर्ने विपत्ति छुट्टै हो ।

सगरमाथामा अर्काे समस्या–समिट फिभर हो । जुन रोगबाट उनी पनि पीडित बने । छिरिङसँग हिमाल चढ्दाका बिर्सन नसकिने क्षण अविरल वर्षाझैँ छन् । सम्झिन्छन्– सपनामै ओछ्यानमा निदाएका साथीलाई बोकेर कुदेको । यो घटना हो २००८ को । त्यतिबेला हिमाल चढ्ने क्रममा छातीको तीन वटा करङ भाँचियो । हिउँ पहिरोले दुई सय मीटर तल लैजाँदा सँगै बगेका पाँच जना साथी कसैको टाउको काटिएको, कसैको शरीरबाट रगत बगेर आहालझैँ भएको दृश्यले उनलाई अझै पनि पीडा दिन्छ ।

तर, दैवको साथ भनौँ सबै जनाको उद्धार भयो । हिउँ–पहिरोले बगाउँदै गर्दा हामफालेर निस्कन खोज्दा छातीमा झुण्डिएको क्यामेरा भुइँमा बज्रन पुग्यो र सग्लो करङ टुक्रियो । बाँकी चार जना साथीले हिउँ पहिरोमा परेर अशक्त बन्नुपर्‍यो । यो घटनाले उनलाई चार वर्षसम्म पिरोल्यो । सगरमाथाको क्याम्प–३ मा थिए उनी । एक्कासि पहिरो आयो । र, बगाउन लाग्यो । प्रकृतिसँग कसैको केही नलाग्ने । साथीलाई समाएर ‘भाग भाग’ भन्दै कुदे । सुतिरहेको साथीलाई समाउँदै अघि बढ्ने क्रममा बजारिए । एकदिन धादिङबेसीमा कम्पनीको सरसँग सुतिरहेका थिए । रातको १२ बजे । जन्ती आइरहेको । ‘डिहाइड्रेसन’ले आधा घण्टा खुट्टा चलेन, रुखको हाँगोजस्तो भयो शरीर । 

यसैबीच नेपाल सरकारले पर्यटन क्षेत्रको साहसिक क्षेत्रमा एउटा तालिम दिने योजना अघि बढायो । यसका लागि दश लाख बजेट विनियोजन भयो । पैसो छुट्टिइसक्यो तर बजेट परिचालनका लागि पायक पर्ने क्षेत्र र योजना फुरेन । यो सन् २०१४ को कुरा हो । त्यतिबेला पेम्बा ग्याल्जेनसहित फिल्डको ट्रेनिङमा जानुपर्ने थियो । पेम्बाले उनलाई यस विषयमा जानकारी गराए । र, मनमनै स्की खेलको नयाँ सोच अघि बढाए । विन्टर सिजनमा हिमाली भेगका मानिस ढोका थुनेर बस्ने या ओरालो (पहाडतिर) झर्ने गर्छन् तर उनले अब त्यसो होइन सदाबहार ढोका खुल्ला रहनुपर्छ भन्ने सोचसाथ स्की खेलको प्रस्ताव अघि सार्ने भए । स्की भनेको हिउँमा चिप्लिनु हो । स्की एकदमै साहसिक खेल हो ।

नेपालमा यो पहिलो र अनौठो भएकाले उत्तिकै चुनौती पनि थियो । यस्तैमा सम्झिए– स्वीस साथीलाई । स्वीसहरू जन्मेको केही वर्षमै स्की खेल खेल्ने गर्दछन् । दुईबीचमा सबै कुरा भइसकेपछि आयोजकसँग भेटे । र, अन्त्यमा दश वर्षसम्म आफूले स्की खेलसम्बन्धी प्रशिक्षण दिने बाचा पनि गरे । तर, सुरक्षाको हिसाबले कसलाई दिने ? भन्ने समस्या पर्‍यो । त्यसपछि माउन्टेनियरिङ बुझेको र हिउँसँग परिचित व्यक्तिको पहिचान भयो । सन् २०१५ देखि स्की खेल नेपालमा खेल्न थालियो । अहिलेसम्म आठ हजार फिट माथिका हिमालको आरोहण दर्जनौं पटक गरिसके । चुचुरोमा पुगे तर आफैँले झण्डा कहिल्यै गाडेनन् । २००३ मा गाइड भए । त्यही वर्ष विश्वको चौथो अग्लो हिमाल ल्होत्से चढे ।

तर, झण्डा भने अर्कैले गाडे । अहिलेसम्म दर्जनभन्दा बढी पटक आठ हजारभन्दा अग्ला हिमाल उक्लिए । हरेकपटक सफल भए । सगरमाथाको शिखर, चोेयु, ल्होत्से, मनास्लु, मकालु हिमाल चढे, तर गाइड भएर । शेर्पाजस्ता हजारौँ मान्छेको ढाडमा टेकेर मान्छेले सफलताको रिबन काट्छन् । तर, आफूले नाम कमाउनै पर्छ, हिरो हुनै पर्छ भनेर कहिल्यै सोचेनन् । हिमालमा पुगेर नानाथरी रेकर्ड राख्ने भोक पनि कहिल्यै जागेन । केही वर्षअघि नेपाल सरकारले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मीटर रहेको घोषणा गर्‍यो । नापी विभागको टोली सगरमाथा पुगेको थियो । टोलीमा रहेका चार जनामध्ये दुईजना बेसक्याम्पमा बसेका थिए भने दुई जना माथि पुगेका थिए । जसलाई सगरमाथाको शिखरमा पुर्‍याउने काम यिनै शेर्पाले गरेका हुन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू