विनोद चौधरी, होटल भिभान्ता र बालकोटको गानाबजाना

विनोद चौधरी, होटल भिभान्ता र बालकोटको गानाबजाना
सुन्नुहोस्

एमाले छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेदेखि विवादास्पद व्यापारी विनोद चौधरी बालकोटको नजरमा कहिल्यै राम्रो देखिएनन् । उनै चौधरी असार ७ गते राति एकाएक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटको सभा कक्षमा उहाँसँगै पलेटी कसेर बसेको अवस्थामा देखिए । 

जुन २१ तारिख अर्थात् विश्व संगीत दिवसको अवसरमा आयोजित लाइभ म्युजिक कार्यक्रममा अध्यक्ष ओली, उहाँको परिवारका सदस्य,केही नेता तथा संगीतकर्मीहरुमाझ चौधरीको उपस्थिति आफैमा उदेकलाग्दो थियो । उनै व्यापारी सोमबार राति काठमाडौंमा काँग्रेस र एमालेबीच सत्ता समीकरणको सहमतिनिम्ति अन्तिम कसरत भइरहँदा एकाएक नयाँ दिल्लीतिर हान्निए ।

उनी सोमबार साँझ पौने ६ बजे भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५६ मा त्यता गएका हुन् । पछिल्लो पटक नयाँ दिल्ली हुँदै गएका उनी जेठ ३२ गते मध्यरात फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा दुबईबाट काठमाडौं आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुनमा नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सम्बन्ध राखेपछि चौधरीको नयाँ दिल्ली जाउआउ बाक्लिएको थियो । उनीसँगै काँग्रेस नेता तथा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा पनि रेगुलर उता जाँदै फर्कंदै गरेका थिए ।

स्रोत भन्छ, ‘यसपटक काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की,रमेश लेखक र एमालेका शंकर पोखरेलहरुको टोलीबीचका गोप्य भेटवार्ता अधिकांश ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा भएको थियो । चौधरीको उक्त होटलमा भएका धेरैजसो भेटघाट र छलफलको सहजीकरण स्वयम् विनोदले गरेका थिए ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा पनि एकैछिन देखा पर्न चौधरी नयाँ दिल्ली पुगेका थिए । उनी त्यहाँबाट भोलिपल्ट दुबई गएर जेठ मसान्तका दिन फर्किए ।

भिभान्ताको छलफलपछि मात्र सहमतिलाई अन्तिम रुप दिन सोमबार दिउँसो माइतीघरस्थित प्रथम गभर्नर हिमालय समशेर राणाको घर रोजिएको थियो । त्यहाँ राणाका छोरीज्वाईं तथा काँग्रेस नेता सुनिल थापाले सहजीकरण गरेका थिए । त्यसपछि मध्यराति हात्तिगौंडास्थित क्याप्टेन रामेश्वर थापाको घरमा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच लिखित सहमति गरिएको थियो ।

टिप्पणीहरू