‘मानो रोपेर मुरी फलाउने’ भन्दै प्रभु साहका कार्यकर्ता तितरबितर

‘मानो रोपेर मुरी फलाउने’ भन्दै प्रभु साहका कार्यकर्ता तितरबितर

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले आन्दोलन स्थगित गरेको छ । वैदेशिक रोजगार पीडितलाई न्याय दिन माग गर्दै १९ दिनदेखि वैदेशिक रोजगार विभागबाहिर आन्दोलनरत आईटी आर्मीले आन्दोलन स्थगितको घोषणा गरेको छ ।  

मुलुकमा विकसित पछिल्लो राजनीतिक परिस्थिति, असारे खेतीलाई मध्यनजर गर्दै आन्दोलन स्थगित गर्ने निर्णय गरिएको आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहले बताए । तत्कालका लागि विभाग घेराउ तथा धर्ना कार्यक्रम स्थगित गरिएको छ । 

आज विज्ञप्ति जारी गर्दै उनले ११ बुँदे माग सम्बोधन नभएमा पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘पछिल्लो समय देशको बद्लिदो राजनीतिक परिस्थिति, वर्षाजन्य मौसमको बढ्दो प्रतिकुलता तथा नेपालजस्तो कृषि प्रधान देशमा ‘मानो रोपेर मुरी फलाउने’ असारे खेतीको महत्वपूर्ण समय समेतलाई मध्यनजर गर्दै तत्कालका लागि विभाग घेराउ तथा धर्ना कार्यक्रमलाई स्थगन गर्ने निर्णय गरेका छौं ।  मागहरु समयमै सम्बोधन नभए थप सशक्त, प्रभावकारी एवम् निर्णायक संघर्ष गर्न हामी बाध्य हुने र यसबाट सृजित सम्पूर्ण क्षति एवम् परिस्थितिको जिम्मेवारी स्वयम् राज्य पक्षले नै लिनुपर्ने विषय अग्रीम रुपमा चेतावनीका साथ अनुरोध गर्न चाहन्छु’, विज्ञप्तिमा उल्लेख छ । 

आईटी आर्मीले ‘विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने’, ‘ठग म्यानपावर र एजेण्टलाई कारबाही गर्नुपर्ने’, ‘बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने’, ‘वैदेशिक रोजगारी पीडितहरुलाई न्याय दिनुपर्ने’, ‘विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्ने’, ‘असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने’, ‘फ्रि टिकट, फ्रि भीसा व्यवहारतः लागू गर्नुपर्ने’, लगायतका मागसहित असार २ गतेदेखि आन्दोलन थालेको थियो ।

टिप्पणीहरू