प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाई रोकियो

प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाई रोकियो
सुन्नुहोस्

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाई रोकिएको छ । सिंहदरबारमा आज बसेको संसदीय सुनुवाई समितिको बैठकमा उजुरीकर्ताको कुरा सुनेपछि त्यसबारे थप अध्ययन गर्न केही दिनका लागि सुनुवाई स्थगित गरिएको बताइएको छ । 

यसबारे जानकारी गराउँदै समितिका सभापति पशुपति समशेर जबराले आज उजुरीकर्ताहरुसँग सोधपुछ भएको र उनीहरुका धारणा सुन्ने काम सकिएको बताए । प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले आज उजुरीकर्तासँग छलफल गरेको थियो । 

उजुरीकर्ताले राखेको धारणामा विचार विमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाई स्थगित गरिएको जबराको भनाई छ । असार २ गते बसेको संवैधानिक परिषद बैठकले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका मान्छे भनिएका प्रधानलाई निर्वाचन आयुक्त सिफारिस गरेको थियो । 

नेपाली काँग्रेसको कोटामा आयुक्त सिफारिस भएका उनीविरुद्ध यौन दुर्व्यवहारको आरोप छ । त्यस सम्बन्धमा सुनुवाई समितिमा उजुरी परेको बुझिएको छ ।

टिप्पणीहरू