महानगरले डोजर लगाएपछि अख्तियार आयुक्तले रिसिइबी साँधेको मेयरको आरोप

महानगरले डोजर लगाएपछि अख्तियार आयुक्तले रिसिइबी साँधेको मेयरको आरोप

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा अमात्यले रिसिइबी साँधेको बताएका छन् । महर्जनलाई आयोगले आगामी बुधबार बयानका लागि बोलाएपछि उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

स्थानीय पहिरोपीडितलाई तीन वर्षअघि दिइएको राहत र प्रेस संयोजक नियुक्तिको विषयमा अख्तियारले प्रश्न उठाउँदै उनलाई बयानका लागि बोलाएको छ । महर्जनले २०७८ सालमा वडा नम्बर २४ धापाखेलमा गएको पहिरो प्रभावित परिवारलाई महानगरको तर्फबाट एक लाख ५० हजारदेखि साढे दुई लाख रुपैयाँसम्म उपलब्ध गराएको थियो । 

यसअघि महानगरले अस्ति आयुक्त अमात्यले चाकुपाटस्थित सरस्वती मन्दिर परिसर अतिक्रमण गरेर बनाएको घरको गेट र पर्खालमा डोजर चलाएका थिए । गेट र पर्खाल भत्किएपछि आफूमाथि अमात्यले प्रतिशोध साँधेको मेयरको भनाई छ । उनले भने, ‘मेरो उपस्थितिमा महानगरले अतिक्रमित संरचना भत्काएको हो ।’ अमात्यका परिवारले भने महानगरले अतिक्रमण नै नभएको संरचना भत्काएको आरोप लगाएको छ ।

मेयर महर्जनलाई आयोगले हिजो पत्र बुझाएको हो ।

टिप्पणीहरू