एक्सन रुमबाट प्रधानमन्त्रीको अपील - सरकारको प्रयासमा हातेमालो गरौँ

एक्सन रुमबाट प्रधानमन्त्रीको अपील - सरकारको प्रयासमा हातेमालो गरौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि उहाँले प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका निकायहरुलाई निर्देश गर्नुभएको हो । सोक्रममा प्रधानमन्त्रीले बाढी पहिरो र डुबानबाट देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । 

'विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।'

केही दिनअगाडि मात्रै आफूले उच्चस्तरीय विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जिउधनको सुरक्षामा खटिन निर्देशन दिएको प्रधानमन्त्रीले स्मरण गर्नुभयो । भन्नुभयो, 'वर्षा जारी छ । अझै क्षति हुन सक्छ । सडक अवरूद्ध हुन सक्छन् । त्यसैले उद्धार एवं राहतका लागि सक्रिय होऔं ।'

सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै उहाँले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गर्नुभयो ।

टिप्पणीहरू