नक्कली शैक्षिक प्रमाणपत्रधारीहरु अख्तियारको फन्दामा

नक्कली शैक्षिक प्रमाणपत्रधारीहरु अख्तियारको फन्दामा
सुन्नुहोस्

नक्कली शैक्षिक प्रमाणपत्रको आडमा सरकारी सेवामा नियुक्ति लिएका तीन जनाउपर मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका होमियोप्याथी चिकित्सक संगिताकुमारी साह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति नयाँ बानेश्वर, काठमाडौंमा सहायक पदमा कार्यरत चन्दा शाह र डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत खरिदार मेखराज जोशीविरुद्ध मुद्दा दायर भएको हो । 

अख्तियारका अनुसार संगीताले भारतको बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी होमियोप्याथी पदमा नियुक्ति लिएका थिए । 

त्यस्तै, चन्दा र मेखराजले भारतको विभिन्न शिक्षा एवम् परीक्षा परिषद्बाट जारी गरिएको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको अख्तियारको आरोप छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित तीनै जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।

टिप्पणीहरू