फेसबुकबाट राजीनामा फिर्ता माग्दै अन्जना शाह राजावादी क्याम्पमा फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महिला संगठनको अध्यक्षसहित साधारण सदस्यसमेत नरहने घोषणा गर्दै बाहिरिएकी अञ्जना शाह रावल पार्टीमै फर्किएकी छिन् । उनले फेसबुकमार्फत आफ्नो राजीनामा फिर्ता लिइन् ।
पार्टीको निवर्तमान अध्यक्ष पशुपतिसमशेर जबरा,डा.प्रकाशचन्द्र लोहनी,अन्य पदाधिकारी तथा महिला संगठनमा कार्यरत पदाधिकारीहरुले फर्किन आग्रह गरेकाले राजीनामा फिर्ता लिएको उनले बताएकी छन् । पार्टी महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ्गलाई सम्बोधन गरेर पत्र लेख्दै उनले आफ्नो राजीनामा फिर्ता दिन अनुरोध गरेकी छिन् ।
‘मलाई पार्टीका श्रध्देय निवर्तमान अध्यक्ष माननीय पशुपतिसमशेर जबराज्यू,निवर्तमान अध्यक्ष तथा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीज्यू,आदरणीय शीर्ष नेताज्यूहरु,आदरणीय पदाधिकारीज्यूहरु,देशभरिका संगठनका दिदीबहिनीहरु,पार्टी र पार्टी बाहिरका शुभेच्छुक साथीहरुबाट पार्टीमा र आफ्नो जिम्मेवारीमा फर्कन आग्रह, अनुरोध गर्नुभएकोले उहाँहरु सम्पूर्णको आग्रहलाई शिरोपर गर्दै हिन्दू राष्ट्र, राजासहित प्रजातन्त्रप्रतिको मेरो अगाध आस्था र पार्टीप्रतिको मेरो जिम्मा कायम नै रहनेगरी पुनः सक्रियताका साथ अविचलित रही निरन्तर लाग्ने प्रतिबद्धतासहित मेरो राजीनामा फिर्ता दिन अनुरोध गर्दछु’,पत्रमा उल्लेख छ ।
२०७९ असार २ गते महिला संगठनको तदर्थ समिति अध्यक्षमा मनोनित भएकी अन्जनाले गत असार ५ गते सबै पद त्यागको घोषणा गरेकी थिइन् । सहकर्मीहरुबाटै असहयोग भएकोले राजीनामा दिने निर्णय लिएको उनले बताएकी थिइन् ।
टिप्पणीहरू