नयाँ सरकारमा कांग्रेस र एमालेको हैसियत बराबर
कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री हुने तरखरमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको भागबण्डा मिलाउन बाँकी रहेको बताउनुभएको छ ।
च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै उहाँले दुई दलबीच शक्ति बाँडफाँटबारे सहमति भैनसकेको जानकारी गराउनुभएको हो । ओलीले सरकारमा सहभागी हुने दलको संख्या निश्चित भएपछि सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने पनि बताउनुभयो ।
काँग्रेस र एमालेले सामान्यतया: बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने उहाँको भनाई छ ।
‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले,यो पार्टीले यो मन्त्रालय, को-को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतया हैसियतको आधारमा, काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ', ओलीले भन्नुभयो ।
टिप्पणीहरू