नक्कली प्रमाणपत्रधारी शिक्षक : एउटाको नागरिकता, अर्काको अध्यापन अनुमति

नक्कली प्रमाणपत्रधारी शिक्षक : एउटाको नागरिकता, अर्काको अध्यापन अनुमति
सुन्नुहोस्

नागरिकतामा उमेर घटाएर सरकारी सेवामा नियुक्ति लिएका एक पूर्वशिक्षकविरुद्ध मुद्दा दायर भएको छ । कास्कीको पोखरा महानगरपालिका–२, तारेभिरस्थित दुर्गा आधारभूत विद्यालयका तत्कालिन शिक्षक बोधराज पौडेलविरुद्ध मुद्दा हालिएको छ ।

उनले सरकारी सेवामा दुई वटा नागरिकता प्रयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ । अख्तियारका अनुसार उनी २०४९/०७/१९ गते  दुर्गा आधारभूत विद्यालयको अस्थायी शिक्षकमा नियुक्त हुँदा जन्ममिति २०१३/०१/२७ गते थियो । 

तर, शिक्षक सेवा आयोगमा दरखास्त दिई २०६०/१२/२६ गते विद्यालयको स्थायी शिक्षकमा नियुक्त हुँदा पेश गरेको शैक्षिक प्रमाणपत्रमा सात वर्ष उमेर कम गरी जन्ममिति २०२०/०१/२७  गते राखेको पाइएको हो । पौडेलले गत चैत मसान्तमा अवकाश पाइसकेका छन् । 

उनले नक्कली वंशजको नागरिकता प्राप्त गरी सरकारी ओहोदा, लाभ र सेवा सुविधा लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय हुन मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

यस्तै, अख्तियारले नक्कली अध्यापन अनुमतिपत्र पेश गरी राहत शिक्षकमा नियुक्ति लिएका एक जना शिक्षकविरुद्ध पनि मुद्दा दायर गरेको छ । धनुषाको गणेशमान चारथान नगरपालिका–१०, बरमझियास्थित श्री माध्यमिक विद्यालयका राहत शिक्षक ब्रहमदेव यादवउपर मुद्दा लगाइएको हो ।

उनले २०६३ सालमा शिक्षक सेवा आयोगबाट जारी भएको भनिएको नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी विद्यालयको राहत कोटामा नियुक्ति लिएको र हालसम्म कार्यरत रही लाभ र सुविधा प्राप्त गरेको देखिएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू