प्रधानमन्त्री प्रचण्डलाई प्रेमपत्र

प्रधानमन्त्री प्रचण्डलाई प्रेमपत्र
सुन्नुहोस्

देश बिरामी छ, कहिले कोमामा पुग्छ थाहा छैन 
तपार्ईंंलाई कस्तो छ ? 

जनता ओखती किन्न नसकेर मरिरहेको खबर त हामीले दिनहुँ सुन्छौं 
बालुवाटारमा सुनिन्छ कि सुनिँदैन ?
पढाइ, लेखाइ तपार्ईंंका आफन्तसम्मका सबै बालबालिकाले राम्रै पाएका होलान् ! 
मेरो कापी छैन भनेर निधारमा नातिको बडी पेन्ट भएको छ कि छैन कुन्नि ? 
हामीले दिनहुँ देखिरहेका छौं
कापी नभएर मोसो दली अपमानित बाबु 
अनि शरीरभरि निलडाम र चोटपटकले दुखेका कलिला भविष्य  
बालुवाटारले चलाउने फेसबुकमा देखिएको छ कि छैन प्रधानमन्त्रीज्यू ?
तपाईंको कोही मलेसिया र साउदीमा छन् कि जनताका छोराछोरी मात्रै ? 
तपाईंले उपलब्धि अलाप्दा शहीदको घर क्वाँ क्वाँ रोएको सुन्नुभएको छ ?
तपाईंले परिवर्तन र समाजवाद भनिरहेको बेला अस्पतालको ३ तलाबाट फाल हालेर मरेको बिरामी पशुपतिमा धुवाउँदा म आर्यघाट पुगेको थिएँ । 
त्यतिबेला खुमलटारबाट उपलब्धिका भिडियो क्लिप आउट भएका थिए।
नथुनी किसानले गोठमा झुण्डिएर मर्दा तपार्ईंं क्रान्तिले जनता जनाधिकार सम्पन्न हुँदै गए भन्दै हुनुहुन्थ्यो ! 
तपाईंहरूको जय होस् 
तर शिवपुरी खोश्रेर बेपत्तालाई शहीद बनाइदिने कोसिस गर्नुहोस् 
अनि तपार्ईंले आफूलाई कार्ल माक्र्स भन्नुहोला 
हाम्रो त खबर बेकार छ प्रधानमन्त्रीज्यू, 
बालुवाटारछेउ आएर आत्महत्या गर्ने जनताको अवस्था भैसकेको खबर पनि जाहेर गराउन चाहन्छु
रेमिटेन्सबाट जनताका छोराछोरीको पसिना चपाएर विदेशीको ऋणले लोकतन्त्रको ढ्यांग्रो बजाउँदै हरेक शीर्षकमा लिइने करले दलाललाई नवधनाढ्य बनाएर शहीदको सहादतलाई खिल्ली नउडाइयोस् !

– लक्ष्मण चौलागाईं, विद्रोही, सिन्धुपाल्चोक 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू