निर्वाचन आयोगले माग्यो सुझाव
निर्वाचन आयोगले चौथो रणनीतिक योजना (२०८१÷०८२–२०८५–०८६) को मस्यौदा तयार पारेको छ । आयोगले हालसम्मका रणनीतिक योजनाहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने क्रियाकलापको पहिचान गरी चौथो रणनीतिक योजना तयार पारेको जनाएको छ ।
निर्वाचनसम्बन्धी कानून तथा अन्तर्राष्ट्रिय मापदण्डसमेतका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वासनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५÷०६६ मा पहिलो पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनको अभ्यास गरिएको थियो ।
यसबीचमा दोस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७१÷०७२–२०७५÷०७६) र तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६÷०७७–२०८०÷०८१) समेत कार्यान्वयन भइसकेको छ ।
आयोगले विगतका रणनीतिक योजनाबाट प्राप्त सिकाई र अनुभव, राजनीतिक दल तथा सरोकारवालासँग गरिएका अन्तरक्रियाबाट प्राप्त सुझाव, निर्वाचन समीक्षाबाट प्राप्त पृष्ठपोषण, निर्वाचन अनुगमन तथा पर्यवेक्षण प्राप्त प्रतिवेदनको विश्लेषण र अन्तर्राष्ट्रियस्तरमा प्रयोगमा रहेका निर्वाचन व्यवस्थापनका असल अभ्यासको अध्ययन तथा अवलोकन, अघिल्लो रणनीतिक योजनामा सम्पन्न हुन नसकेका क्रियाकलाव र थप समावेश गर्नुपर्ने विषयहरुको बृहत समीक्षा गर्दै चौथो रणनीतिक योजना तयार पारेको बताइएको छ ।
मस्यौदामा मुख्यतः हालको अवस्थाको विश्लेषण गरी रणनीतिक योजनाका मार्गदर्शक सिद्धान्त, दूरदृष्टि, ध्येय, लक्ष्य, उद्देश्य, नीति, रणनीति र कार्ययोजनासहितका क्रियाकलापहरु उल्लेख गरिएको आयोगले जनाएको छ । चौथो रणनीतिक योजनाको मस्यौदा आयोगको वेबसाइटमा राखिएको छ ।
मस्यौदामा इच्छुक संघसंस्था, निकाय, व्यक्ति तथा आमसञ्चार माध्यमहरुले आगामी साउन ७ गतेसम्म आयोगको सचिवालयमा प्राप्त हुने गरी आफ्नो राय, सुझाव, प्रतिक्रिया र पृष्ठपोषण दिनसक्ने छन् ।
टिप्पणीहरू