जातेजाते एमाले महासचिवका भाञ्जामाथि कारबाही
सरकारले नेपाल संस्कृत विश्वविद्यालय,बेलझण्डी दाङका कुलसचिव माधव अधिकारीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलका आफ्नै भाञ्जा अधिकारीलाई यसअघि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा उपकुलपति (भिसी) मा नियुक्त डा. यादवप्रकाश लामिछानेले कारबाही गरेका हुन् ।
भिसीले अधिकारीलाई हिजो कारबाही गरेर प्रधानमन्त्री तथा कुलपति र सहकुलपति तथा शिक्षामन्त्रीलाई बोधार्थ दिएका छन् । यसअघि नै कारबाहीको प्रक्रिया अघि बढेको सुईंको पाएपछि अधिकारीले महासचिव मामालाई गुहारेका थिए । पोखरेलले तीन दिनदेखि यादवलाई फोन गरे पनि उठाएनन् । बालकोटबाट राजेश बज्राचार्यलगायतले गरेको फोनसमेत नउठाएका लामिछाने हिजोदेखि मोबाइल नै अफ गरेर बसिदिए ।
अधिकारीलाई विश्वविद्यालयले गत शुक्रबार स्पष्टीकरण सोधेको र उनको जवाफ चित्त नबुझेपछि कारबाही गरिएको देखिन्छ । यता अधिकारी र एमाले नेतृत्व शंकर पोखरेलको भाञ्जा भन्ने थाहा भएकाले स्पष्टिकरण सोधे पनि कारबाही नहुनेमा ढुक्कसँग बसेको थियो । शुक्रबारको सात दिने स्पष्टिकरणमा चित्त नबुझेपछि विश्वविद्यालयले गत बिहीबार पुनः तीन दिने स्पष्टिकरण सोधिएको थियो । जवाफ चित्त नबुझेपछि कारबाही गरिएको हो ।
अधिकारीलाई निलम्बन गर्नुपर्नाको कारण खुलाउँदै पत्रमा लेखिएको छ, ‘आफुखुशी निर्णय गर्दै जाने, पदीय मर्यादा एवम् गरिमालाई कायम गर्न नसकेको, माथिल्लो पदाधिकारीलाई सोधपुछ गर्ने दुस्साहस गरेको र शिक्षाध्यक्षलाई कार्यकारी परिषदको बैठक सञ्चालन भइरहेको अवस्थामा अशिष्ट, अभद्र तथा दुव्र्यवहार गरेको, कार्यकारी परिषद्ले गरेका निर्णयलाई अवज्ञा गरेको ।’
भिसी नियुक्त भएर गएपछि लामिछानेलाई पूर्ण रुपमा असहयोग गरेकाले प्रचण्ड सरकारको अन्तिमतिर उनलाई कारबाही गरिएको कर्मचारीहरु बताउँछन् । भिसी निकट स्रोतले भन्यो, ‘माथि (काठमाडौंमा) मामा र ‘बा’ हुनुहुन्छ भन्दै लामिछानेको हरेक निर्णयमा अधिकारीले तगारो हाल्दै आएका थिए । वर्षौंसम्म सहे पनि पछिल्लो समय उनको हर्कतले सीमा नाघेको थियो ।’
विश्वविद्यालयका कतिपय वरिष्ठ कर्मचारीले उनीमाथि भिसीले कारबाही प्रक्रिया अघि बढाउन लागेको केही हप्ताअघि नै थाहा पाएका थिए । हुनतः भिसीले बीचमा पनि कारबाही गर्न खोजेका थिए । तर महासचिवको आडमा कारबाही तुहाइएको थियो ।
टिप्पणीहरू